ताजा समाचार:
Search

आकस्मिक अवतरणमा सहयोगी बन्दै हेलिप्याड

विकल्प न्यूज/बेनी
असार २० गते । म्याग्दीका ग्रामिण भेगमा निर्माण गरिएका हेलिप्याडहरु आकस्मिक अवतरण पनि सहयोगी बन्न थालेका छन् । शुक्रवार पोखराबाट जोमसोमका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जोमसोम पुग्न नसकेपछि अन्नपूर्ण २ मान्द्रेढुङ्गामा निर्माण गरिएको हेलिप्याडमा आकस्मिक अवतरण गरिएको हो ।

हिमाली क्षेत्रमा उड्ने हेलिकप्टर आकष्मीक रुपमा अवतरण गर्नुपर्दा पनि हेलिप्याड सहयोगी हुने रहेछ । यसले जोखिम न्यूनीकरणमा पनि टेवा पुग्यो प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भन्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको योजनालाई स्थानीय तहले सहयोग गरेको हुनाले आगमी ६ महिना भित्रमा ४५ वटै वडामा हेलिप्याड निर्माण भइसक्ने प्रजिअ अधिकारीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तह सँगको सहकार्यमा ३३ वटा वडाहरुमा हेलिप्याड निर्माण गरिसकेको छ । जिल्लाका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ ।

भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको प्रजिअ अधिकारीले बताउनुभयो । आठ महीनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् ।

शुक्रबार अन्नपूर्ण गाउँपालिका २ मान्द्रे ढुङ्गामा आकष्मीक रुपमा अवतरण गरिएको हेलिकप्टर । तस्विर वडा अध्यक्ष ओमप्रसाद फगामीको फेसबुकबाट