मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी
असार १८ गते । 

मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ ।

बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि बरंजा जोड्ने पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाको रोजगार संयोजक कृष्णप्रसाद भुषालले जानकारी दिनुभयो ।

उनिहरु पन्ध्र दिनसम्म काममा खटिनेछन् । दैनिक ७५० रुपैयाँका दरले ज्याला उपलब्ध गराउने व्यवस्था छ । गाउँकार्यपालिकाको बैठकले छनौट गरेका योजनामा मजदुरको रुपमा परिचालन गरिएको हो । ५०० जनाले बेरोजगार फारम भरेका थिए ।

वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मंगलामा २८ लाख रुपैयाँ बजेट आएको थियो ।

तीस प्रतिशत मजदुरका लागि आवश्यक औजार, पोशाक र निर्माण सामग्री खरिद तथा सत्तरी प्रतिशत ज्यालाको रुपमा परिचालन गरिने व्यवस्था छ । आयोजनामा खटिने मजदुरहरुले यसअघि गत शुक्रबार बाबियाचौरमा अभिमुखीकरण गरिएको थियो ।