ताजा समाचार:
Search

धौलागिरि पदयात्राका १५ स्थानमा पुलको अभाव

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,असार १६ गते । धौलागिरि गाउँपालिका ४ मुदी बगरका कृष्णबहादुर बुढाथोकी जोखिम मोलेर काठको साघुबाट म्याग्दी खोला वारपार गर्नुहुन्छ । पुर्जा मात्र होइन म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा पारेर काठको साघुबाट खोलावारपार गर्नुपर्ने बाध्यता छ ।

हिउदमा होस वा बर्खामा पानीको उर्लदो बहाबसंगै जोखिम मोल्दै आवतजावत गर्नुपर्ने बाध्यता रहेको धौलागिरि आधार शिविर अन्तर्गत इटाली बेशक्याम्पका होटल व्यवसायी हरीप्रसाद तिलिजाले बताउनुभयो । राउन्ड धौलागिरि पदयात्रामा पुगेका सयौं पर्यटकहरु तातोपानी कुण्डामा पुगेर थकान मेटाउन चाहान्छन तर पक्की झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर भएपनि खोला वारपार गर्दछन् तिलिजाले भन्नुभयो ।

तातोपानी कुण्डमा पुग्नका लागि मात्र होइन धौलागिरि आधार शिविर पुग्ने सयौं पर्यटकहरु जोखिम मोलेर पदयात्रा गर्दछन् । पदयात्राका दर्जन भन्दा वढी स्थानका खोलाहरुमा पुलको अभाव छ । पुलको अभावका कारण पर्यटकहरु जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको इटाली बेश क्याम्पका होटल व्यवसायी तिलिजाले बताउनुभयो । हिमालको हिउँ पग्लीएर आउने खोलाहरु भएकाले हिउदका समयमा खोलामा पानीको बहाव वढ्ने हुँदा खोला वारपार गर्न जोखिम हुने उहाँले बताउनुभयो ।

‘राउण्ड धौलागिरी पदयात्राको १५ स्थानमा पुलको आवश्यकता छ तर कहिकतैबाट हाम्रो मागको सुनुवाई भएन, वर्षौ देखि जोखिम मोलेर भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ’ तिलिजाले भन्नुभयो । धौलागिरि हिमालको आरोहणमा पुग्ने पर्यटकहरु पुलको अभावमा ज्यान जोखिममा पारेर वषौं देखि यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
पुल निर्माण गरी पदयात्रालाई सहज बनाउन सकेमा अहिलेको संख्या भन्दा तेब्बर पर्यटकहरु राउण्ड धौलागिरिको पदयात्रामा आउने उहाँले बताउनुभयो ।

सम्बन्धित निकायहरुमा पटक पटक पुलको माग गर्दा पनि कहिँकतैबाट सुनुवाई नभएको उहाँले दुखेसो पोख्नुभयो । दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भएपनि पुलको योजना परेमा आफूहरु श्रमदान गर्न तयार भएको बगराका स्थानीय तमबहादुर पुर्जाले बताउनुभयो । खोलाहरुमा पुल नहुँदा कतिपय पर्यटकहरु विचबाटो बाटै फर्किने उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल भएपनि पदयात्रा सहज नहुँदा आशा गरिए अनुसारका पर्यटक आउन नसकेको धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । गाउँपालिकाको सिमित स्रोतसाधनले पुल निर्माण गर्न सम्भव नभएको उहाँले बताउनुभयो । एक स्थानमा मात्र पुल बनाउन पनि ३० देखि ३५ लाख रुपियाँ खर्च हुने भएकाले गाउँपालिकाको बजेटबाट संभव नहुँने उहाँको भनाई छ ।

पुल निर्माण गरिदिन पटक पटक संघिय सरकार सँग माग गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । पुल हाल्नुपर्ने स्थानहरुको पहिचान गरी माग गरेका थियौं गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो‘ वर्षौ देखिको हाम्रो माग सम्बोधन नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ ।’ पुल निर्माण गर्न माग पत्र सहित प्रदेश र संघिय सरकारलाई ध्यानकर्षण गराइएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

पदयात्राका १५ वटा स्थानमा पुलको आवश्यकता पहिचान गरिएको धौलागिरि गाउँपालिकाका असिस्टेन्ट सव इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । ‘कुन कुन स्थानमा पुलको आवश्यकता छ भनेर हामीले पहिचान पनि गरेका छौं ’ उहाँले भन्नुभयो । पदयात्राालाई सहज र सुरक्षित बनाउन ति स्थानहरुमा जसरी पनि पुल बनाउनुपर्ने देखिएको पौडेलको भनाई छ । उहाँका अनुसार रातोखोला,तातोपानी कुण्ड जाने म्याग्दीखोला,झम्म्रुकोट खोला,धाप्चा खोला,कैचीविरै खोला,तलित्रै खोला,हरथेवे खोला,ठाडोओडार खोला,चौरवन खोला,इटाली बेस क्याम्पको म्याग्दी खोला,स्वीस क्याम्प खोला र जापानीज वेशक्याम्प नजिक म्याग्दी खोलामा पुलको आवश्यकता छ । १२ स्थानमा झोलुङगे पुल र ३ स्थानमा साना कलबर्टको पहिचान गरिएको गाउँपालिका असिस्टेन्ट सव इन्जिनियर पौडेलले जानकारी दिनुभयो । साभार ः गोरखापत्र अनलाइन 

तस्विर
धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा पुग्न काठको साघुबाट म्याग्दी खोला पार गर्दै स्थानीय । तस्विर ठाकुरप्रसाद आचार्य