तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार १२ गते ।  तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य

मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी हात लिएर राजधानी भौतारिएका छन् बुद्धी भने गाउँमै कृषि खेतीमा संभावना देखेर माटो रमाउनुभएको छ ।

विकको खेतमा तरकारी लोभलाग्दो छ । कृषि जेटिए अध्ययन गर्नुभएका विक गाउँमा नमुना कृषकका रुपमा परिचित हुनुहुन्छ । आफूले पढेको विषयलाई व्यवहारमा उर्तान लागेको छु विकले भन्नुभयो,‘विदेश जाने सोच छैन । कृषि पेशालाई आधुनिकिकरण गरेर समाजमा उत्कृष्ट कृषक बन्ने मेरो लक्ष्य छ ।’

दुईरोपनी क्षेत्रफलमा ६ वटा प्लाष्टिक टनेल निर्माण गरी विकले सिर्जना जातका एकहजार गोलभेडाका विरुवा रोप्नुभएको छ । यतिखेर ६ वटै टनेलमा लटरमम्म गोलभेडा फलेका छन् । सुरुमा एकलाख पचास हजार रुपियाँ लगानी गरेर टनेल बनाएको विकले बताउनुभयो । टनेल भित्र थोपा सिँचाईको व्यवस्था छ । थोपा सिँचाई गोलभेडाका लागि उत्तम हुने विकले बताउनुभयो ।

बजारमा यतिखेर गोलभेडाको प्रतिकेजी एकसय रुपियाँमा सहजै विक्री गर्दछ । गाउँपालिका केन्द्र बावियाचौरका व्यापारीहरु गोलभेडा खरिद गर्न घरमै आउँछन् उहाँले भन्नुभयो । बेमौसमी तरकारी उत्पादन गर्न सक्ने हो भने राम्रो मुल्य पाउने उहाँको अनुभव छ ।

आगमी दिनमा प्लाष्टिक टनेललाई वढाएर खेतीलाई विस्तार गर्ने लक्ष्य रहेको विकले बताउनुभयो । तरकारीमै भविष्य देखेको छु विकले भन्नुभयो, आगमी दिनमा लगानी बढाउने योजना छ ।’

निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने देखेर व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको विकले बताउनुभयो । आफूले पढेको र सिकेको सीपलाई व्यवहारमा उर्तानका लागि पनि व्यवसायिक तरकारी खेती गर्न थालेको हुँ विकले भन्नुभयो,‘पढे लेखेका युवाहरुले कृषि खेती गरेमा मात्र सम्मानीत पेशाका रुपमा विकास गर्न सकिन्छ ।’

सरकारले विदेशीनी युवालाई कृषि खेती तर्फ आकर्षीत गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने विक बताउनुहुन्छ । सरकारले ल्याएको सुलभ ब्याजको कर्जालाई सहज रुपमा पाउने व्यवस्था भइदिए धेरै युवाहरु कृषिमा लाग्ने उहाँले बताउनुभयो । ‘विदेश गएर ज्यालामजदुरी गर्नुभन्दा स्वदेशमै काम गर्दा स्वाभिमानी हुने भएकाले विदेश नगएर स्वदेशमै कृषि पेशामा लाग्न युवाहरुलाई उहाँले सुझाउनु हुन्छ । पाँचजनाको परिवार भएका विकले परिवारका अन्य सदस्यहरुलाई पनि सीप अनुसारको काम लगाउनुहुन्छ । विकलाई गाउँमा परिश्रमी युवाका रुपमा चिन्ने गरेको स्थानीय राजेन्द्र आचार्यले बताउनुभयो ।
सवै खर्च कटाएर वर्षमा गोलभेगा खेतीबाट राम्रो भाउ पाए पाँचलाख रुपियाँ सम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले सहुलियत रुपमा मलविउ,सिँचाई र समयसमयमा तालिमको व्यवस्था गरिदिए आफूलाई अझ उर्जा मिल्ने उहाँको भनाई छ ।

कृषिको प्रशस्त संभावना भएको मंगलालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । युवाहरुलाई कृषि पेशामा आकर्षीत गर्न मुख्यमन्त्री कृषि कार्यक्रम लागू गर्न यसको अध्ययन भइरहेको अध्यक्ष रोकाले बताउनुभयो ।