ताजा समाचार:
Search

धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज
मुना ११ असार ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि कुल ३४ करोड २१ लख ४८ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो । चालु शिर्षकको बजेट शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता र प्रशासनिक क्षेत्रमा परिचालन हुन्छ ।

पूजीगत बजेट विकास योजना तथा कार्यक्रममा खर्च हुन्छ । संघीय सरकारबाट बित्तिय समानीकरण अनुदान सात करोढ १८ लाख, संघीय विभाज्य कोषबाट सात करोड ७५ लाख, सशर्त अनुदान १२ करोड १५ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण एक करोड १९ लाख, प्रदेश राजस्व बाँडफाँड १८ लाख ६९ हजार र आन्तरिक आम्दानी २५ लाख रुपैयाँ अनुमान गरिएको छ ।कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सडक, पुल, विद्युत, भवन, सिचाई, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, सामाजिक रुपान्तरण लगायत क्षेत्रलाई समेटेर बजेट तथा योजना बनाएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

भौगोलिक आवद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजिवन सहज बनाउन सडक र सहज आवत जावतका लागि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिएको धवलागिरी गाउँपालिकाको १ नम्बर वडामा पर्ने बिकट बस्ती गुर्जामा आन्तरिक मोटरबाटो खन्ने भएको छ ।

देशका विभिन्न ठाउँ र प्रवासमा बसोबास गर्ने गुर्जाका बासिन्दा आवद्ध गुर्जा विकास मञ्चको अगुवाइमा गुर्जाबाट सडक निर्माणका लागि गरिएको तयारीलाई साथ दिन र राज्यका उपल्लो निकायलाई दवाव दिन पालिकाबाट बजेट व्यवस्थापन गरिएको कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाको गौरवको योजनाको रुपमा गुर्जा आन्तरिक मोटरबाटो, हिलापोखरी खोरबाङ हुदै खाम्ला मोटरबाटो निर्माणका लागि असी लाख रुपैयाँ बिनियोजन भएको छ । नजिकको बस्ती लुलाङ देखि भिर र जंगलको बाटोमा आठ घण्टा पैदल हिडेर पुगीने अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जालाई सडकले जोड्ने योजना सुरुवात गर्न लागेको हो ।

यसअघि पूर्वाधार आयोजनामा कुल लागतको दश प्रतिशत जनसहभागिता जुटाउनुपर्ने नियम प्रभावकारी नदेखिएपछि आगामी वर्षदेखि दुई प्रतिशत नगदनै जम्मा गर्नुपर्ने नीति लिएको छ । लुलाङ, मराङ, मल्कवाङ र ताकमका सबै घरमा निजी धारा सहितको खानेपानी सुबिधा विस्तारका लागि डिपिआर तयार पारेर प्रदेश र संघीय सरकारमा योजना पेश गरिने भएको छ । केन्द्रीय विद्युत लाइन विस्तारलाई प्राथमिकता दिने र दुर्गम बगर गाउँमा बैकल्पिक उर्जाको व्यवस्थापन गर्न बीस लाख बिनियोजन गरेको छ ।

पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुका साथै ऐतिहाँसिक ताकमकोत मन्दिर पुननिर्माणमा दश लाख बिनियोजन भएको छ । विपद् व्यवस्थाप कोष स्थापना गर्न दश लाख र बाढी, पहिरो र भूक्षय नियन्त्रणका लागि पचास लाख बिनियोजन भएको छ ।

कच्चि शौचालय प्रयोग गर्ने घरधुरी पहिचान गरि पक्कि शौचालय बनाउन प्यान, पाइप, सिमेन्ट उपलब्ध गराउन बाह् लाख पचास हजार बिनियोजन गरेको छ । कृषि र पशुपालन क्षेत्रलाई व्यवसायिक बनाउन अनुदान सहितका कार्यक्रम बनाएको छ ।

प्रबिधिको प्रयोग गरि सिकाई उपलब्धि सुधार, विद्यालयको भौतिक पूर्वाधार निर्माण, शुसासन कायम गर्न तीस लाख बिनियोजन भएको छ । प्रअहरुलाई मासिक पाँच र सात सय रुपैयाँ प्रोत्साहन भत्ताका साथै उत्कृष्ट प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई पुरस्कृत गर्ने भएको छ ।
सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पु¥याउन एम्बुलेन्स खरिदका लागि ४५ लाख बिनियोजन भएको छ । पोषण सुधारका लागि सुनौला हजार दिनका आमासंग अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिन दश लाख बिनियोजन गरेको गाउँपालिकाले हाल २ वटा स्वास्थ्य संस्थामा सञ्चालित सुरक्षित गर्भपतन सेवा थप दुई संस्थामा बिस्तार गर्ने भएको छ ।

बलबिवाह, बहुबिवाह, अनमेल बिवाहको समस्या न्युनीकरणका लागि उमेर सान्दर्भिक बिवाह संग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न दश लाख बिनियोजन भएको छ । आवास बिहिन जनतासंग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गर्न चालीस लाख बिनियोजन गरेको धवलागिरी गाउँपालिकाले अल्पसंख्यक छन्त्याल जातीको बोलीचालीमा मात्र सिमित रहेको भाषा संरक्षणका लागि पहल गर्ने जनाएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउन प्रबिधिको प्रयोग, नियमित बैठक र समिक्षा, घुम्ति शिविर सञ्चालन र कर्मचारीलाई कार्यसम्पादनका आधारमा प्रोत्साहनको नीति लिएको छ ।

गाउँसभामा असार ७ गते अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसोधन सहित पारित गरिएको थियो । नीति तथा कार्यक्रममा गाउँसभा सदस्यहरु झक छन्त्याल, देउप्रसाद छन्त्याल, बमबहादुर पुन, देबबहादुर थापा, अमृता भण्डारी लगायतले आफ्नो बिचार राख्नुभएको थियो ।

गाउँसभा सदस्यहरुले गाउँपालिकामा यातायात सेवालाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने, महशिकारलाई पर्यटनसंग जोड्नुपर्ने, पत्रकारिता क्षेत्रको प्रर्वद्धन र विकासमा सघाउने, असारे विकासको विकृति नियन्त्रण गर्न योजना कार्यान्वयको कार्यतालिका बनाउन प्रस्ताव गरेका थिए । नीति तथा कार्यक्रम र बजेट पारित भएपछि खर्च गर्ने कानुनी बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताउनुभयो ।