मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी
असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो ।तालिमले लोकसेवा आयोगको परीक्षामा युवाहरुको आकर्षण बढाउनुका साथै सहभागीहरु निजामती सेवा प्रवेशमा सफल हुनसक्ने अपेक्षा लिएको बताउनुभयो । वैदेशिक रोजगारीका कारण निजामति सेवामा युवाहरुको आकर्षण कम भएको बताउँदै उहाँले तालिमले युवाहरुमा लोकसेवाको भोक जगाउने आशा व्यक्त गर्नुभयो । गाउँपालिका भित्र रहेका युवाहरुलाई सरकारी सेवा प्रवेश सहज गराउनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत बजेट नीति तथा कार्यक्रम मार्फत कक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । १७ दिन सम्म सञ्चालन भएको तालिममा राप अनंम द्धितिय तह (खरिदार) को पाठ्यक्रमका वारेमा प्रशिक्षण दिइएको थियो । शहभागीहरुलाई लोकसेवाको पाठ्यक्रम,शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराइएको थियो । तालिममा उत्कृष्ट भएका दिनेश ढकाल र रितु नेपालई सम्मान पनि गरिएको थियो । कार्यक्रममा शहभागिका तर्फकाट ढकाल,नेपाली र सोनिया आचार्यले लोकसेवा तयारी कक्षाले आफूहरुलाई धेरै ज्ञान मिलेको र लोकसेवा पढ्नुपर्दछ भन्ने प्रेरणा मिलेको बताउनुभयोे ।

तालिममा गाउँपालिका भित्रका ३५ जना युवायुवतीहरुले सहभागीता जनाएका थिए । तालिमको सहजीकरण गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,लेखा अधिकृत लेखनाथ अधिकारी,जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र बागलुङका प्रेम शर्माले गर्नुभएको थियो ।

लोकसेवा आयोगले अहिले स्थानीय तहका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । लोकसेवाले जनशक्ति माग गरेपछि युवायुवतीहरु लोकसेवाको तयारीमा जुटेका छन् । गाउाँपालिकाले दिने यस्ता तालिमले युवाहरुमा लोकसेवाप्रतिको आशा र विश्वास वढेर जाने अपेक्षा व्यक्त गरिएको छ ।