ताजा समाचार:
Search

रायखोरका बालबालिकाको बाध्यता ः भिर र जंगल छिचोल्दै विद्यालय

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
जेठ ३१ । जंगलको बिच बाटोमा थकित मुद्रामा भेटिएका १२ वर्षीय जीतकुमार शेरपुन्जाले भन्नुभयो “विद्यालय पुग्न अझै डेढ घण्टा कुद्नुपर्दछ ।” रघुगंगा गाउँपालिका ६ पाखापानी स्थित अमर माध्यमिक विद्यालयमा पुग्न शेरपुन्जा दैनिक ३ घण्टा हिड्नुहुन्छ ।
विहान ७ बजे खाईनखाई हिडेको बताउँने शेरपुन्जाको झोलामा किताव सँगै खाजा पनि छ । ‘विद्यालय पुग्न दैनिक ३ घण्टा हिड्नुपर्दछ’ शेरपुन्जाले बताउनुभयो । जीतबहादुर मात्र होइन रघुगंगा गाउँपालिका ६ को विकट वस्ती रायखोर र मुलपानीका दर्जनौं बालबालिकाहरु भिर र जंगललाई छिचोल्दै विद्यालय पुग्छन् । भिर र जंगलको अफठ्यारो बाटो हिड्नुपर्ने बाध्यता बालबालिकाको छ । जंगल र भिरपहराको बाटो छिचोल्दै दैनिक विद्यालय जाने र फर्किने गरी ६ घण्टा बालबालिकाहरु हिड्ने गर्दछन् । साना साना बालबालिका दैनिक रुपमा ६ घण्टा पैदल यात्रा गरेर विद्यालय पढ्न जानुपर्ने बाध्यता रहेको वडा सदस्य लिलबहादुर पुनले बताउनुभयो । भौगोलिक विकटताका कारण बालबालिकाहरु दैनिक रुपमा जोखिम मोलेर यात्रा गर्नुपर्दछ । कक्षा पाँच सम्म गाउँमा अध्ययन गरेपछि बालबालिकाहरु घण्टौ हिडेर छिमेकी गाउँ पाखापानी पुग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

विद्यालय पुग्न र फर्किन ६ घण्टा हिड्नु पर्ने हुन्छ सुदिप नेपालीले भन्नुभयो ‘घण्टौंको हिडाईले पढाईमा बाधा पुगेको छ ।’ ‘पाखापानीमा आवशीय सुविधा सहितको व्यवस्था गरिदिए हामी जस्ता दुर्गम वस्तीका बालबालिकालाई राहत मिल्ने थियो ’ उहाँले भन्नुभयो । भिरपहरामा साघुरो बाटो त्यसमा पनि जंगलमा हिड्नुपर्ने हाम्रो बाध्यता कसले बुझीदिने सुदिपले भन्नुभयो । अविभावकहरु साना–साना बालबालिकालाई टाढाको बाटोमा विद्यालय पठाउनु पर्दा चिन्तित हुने गरेको बताउछन् । बर्षातको समयमा बालबालिकालाई विद्यालय पठाउन जोखिम हुने मुलपानी निवासी दलप्रसाद पुन बताउनुहुन्छ ।

‘टाढाको बाटो छ, पानी परेको बेला त विद्यालय नै पठाउँदैनौ’ पुनले भन्नुभयो ‘बिहानै विद्यालय हिडेका केटाकेटिहरु अध्यारोमा मात्र घर आईपुग्छन ।’ विद्यालय जाने बाटो उकालो ओरालो अझ भिरको बाटो भएकोले कुनै पनि समयमा दुर्घटना हुनसक्ने स्थानीयहरु बताउँछन् । भौगोलिक विकटताका कारण बालबालिकाले निकै समस्या भोग्दै आउनुपरेको वडाअध्यक्ष मनकुमार शेरपुन्जाले बताउनुभयो ।

विद्यालय देखि गाउँसम्मको बाटोलाई सहज बनाउन सम्बन्धित निकायमा वडाले योजना माग गरेको तर कहिकतैबाट सुनुवाई नभएको शेरपुन्जाले दुःख पोख्नुभयो । घण्टौं सम्म हिडेर विद्यालय पुग्ने बालबालिकाको सुविधाका लागि आवशीय सुविधा सहितको विद्यालय बनाउनका लागि गाउँपालिकाले सम्बन्धित निकायमा पहल थालेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

स्विर पाखापानी स्थित विद्यालय जान हिडेका रायखोरका बालबालिका । तस्विर ठाकुरप्रसाद आचार्य