बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

विकल्प न्यूज/बेनी
जेठ २८ गते ।बेनी नगरपालिकाका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । नगरसभामा रहेका एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको वैठक राख्न मेयर हरिकुमार श्रेष्ठ समक्ष माग गरेका हुन ।

एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरेको बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को ३ मा भएको व्यवस्थालाई आधार मानेर यथाशिघ्र विशेष नगरसभा बोलाउन माग गरिएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तर्जुमा गर्ने समयमा मेयर श्रेष्ठले गैरजिम्मेवारी प्रदर्शन गरी कार्यपालिकाको वैठक समेत नवोलाउनुभएकाले विशेष प्रस्ताव सहित सभाको माग गरिएको उहाँले बताउनुभयो ।

आगमी आर्थिक वर्ष २०७६\०७७ को योजना संकलन र बजेट विनियोजन गर्नुपर्ने महत्वपूर्ण समयमा कार्यपालिकाको वैठक र त्यसले गरेको निर्णयलाई देखाएर कार्यपालिकाको वैठक र नगरसभाका लागि मेयरले अग्रसरता नदेखाएका कारण विशेष नगरसभाका लागि निवेदन दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निवेदनमा आगमी आर्थिक वर्ष २०७६\०७७ को नीति ,कार्यक्रम र बजेट,बैठक सञ्चालन कार्यविधि २०७४ लाई संसोधन र अन्य विविध विषयमा छलफल गरि निर्णय लिनका लागि विशेष नगरसभा तत्काल ढाक्नुपर्ने निवेदनमा उल्लेख गरिएको छ ।

नगरसभाका एकतिहाई सदस्यहरुले सभाको वैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय र कारण खुलाई लिखित अनुरोध गरेमा पन्ध्र दिनभित्र अध्यक्ष वा प्रमुखले सभाका लागि वैठक बोलाउनुपर्ने स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएको छ ।