सरकार सर्वसत्ताबाद तर्फ उन्मुख ः कमल थापा

विकल्प न्यूज/बेनी
जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावाद तर्फ उन्मुख हुन लागेको आरोप लगाउनुभएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बेनी आउनुभएका अध्यक्ष थापाले पत्रकार सँगको कुराकानीमा सरकारका पछिल्ला गतिविधिले मुलुकमा सर्वसत्तावाद लाद्न खोजिएको अनुभूति भएको बताउनुभयो ।
‘सरकारको दुई वर्षको कार्यशैलीको मुल्याङकनका आधारमा नेकपाको सरकार मुलुकमा सर्वसत्तावाद लाद्न खोजे देखिन्छ ।’ अध्यक्ष थापाले भन्नुभयो । सञ्चार क्षेत्रलाई आफ्नो कब्जामा पार्न मिडिया काउन्सिल कानुन ल्याएको उहाँको भनाई थियो ।
स्वतन्त्र रुपमा रहेका संवैधानिक अंगहरुलाई प्रभावमा पार्न लागेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो ‘संबैधानिक अंग,पुलिस,सेना र कर्मचारीतन्त्रलाई राजनीतिककरण गरेर मुलुकमा सर्वसत्तावाद लाद्न खोजिएको छ ।’ राजा,विप्लव र अहिलेका राजनीतिक दल सवै अटने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको उहाँको भनाई छ । १२ वर्षको राजनीतिक अभ्यासलाई हेर्दा अहिलेको शासन पद्धतिले समस्याको समाधान गर्न नसकेको हुँदा यसको विकल्पका वारेमा सोच्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

हिन्दु धर्मको रक्षाका लागि आफूले देशव्यापीरुपमा अभियान सञ्चालन गरेको अध्यक्ष थापाले दावी गर्नुभयो । नेपालीको मौलिक धर्म,कला,संस्कृति र पहिचानको संरक्षणका लागि राप्रपाले अभियान सञ्चालन गरेको उहाँको भनाई छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानको दोस्रो चरणको उदघाटन प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको छ । अभियानका क्रममा शनिबार बेनीबजारमा ¥याली निकालिएको छ ।