भ्रष्टाचार गर्नेलाई कडा कार्वाही हुन्छ ः मन्त्री थापा

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, जेठ २५ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले भ्रष्टाचार गर्नेलाई सरकारले कडा कार्वाही गर्ने बताएकी छिन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्ने बताएकी हुन् ।

मन्त्री थापाले सरकारले यसअघि नै ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न’ भन्ने प्रतिबद्धतासहित आफ्नो काम गरिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणको काम भैरहेको बताइन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पार्टीका नेता र कार्यकर्तालाई जनप्रतिनिधिको कामलाई सहयोग गर्न तथा भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्ने कार्यमा अगाडि बढ्न निर्देशन दिइन् ।

विगतमा जस्तो सरकारका मन्त्री भ्रष्टाचारमा मुछिने कार्य भए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणको अभियानमा सबै लाग्नुपर्ने बताएकी छिन् । उनले संसदमा विचाराधीन अवस्थामा रहेको मिडिया काउन्सिल विधेयक संशोधन हुने विश्वास व्यक्त गरेकी छिन् ।

मन्त्री थापाले ज्येष्ठ नागरिकहरुलाई एकलाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको जानकारी दिँदै आगामी वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य, महिला, बालबालिकाको क्षेत्रमा जोड दिइएको बताइन् ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहका कामकारवाहीलाई प्रभावकारी बनाउन एकीकृत र समन्वय गर्नु अहिलेको आवश्यकता रहेको भन्दै कतिपय कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय, प्रदेश र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् । स्थानीय तह सचेत नभएसम्म आधारभूत समस्या समाधान गर्नका लागि गाह्रो पर्ने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र नेता तथा कार्यकर्ताले सरकारको काम प्रभावकारी नभएको, स्थानीय तह, प्रदेश र संघबीच तालमेल नमिलेको, म्याग्दीका धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्न आवश्यक रहेको जस्ता विभिन्न विषयहरुमा जिज्ञासा र धारणा राखेका थिए ।

नेकपा केन्द्रीय सदस्य तथा सांसद भूपेन्द्रबहादुर थापाको विशेष उपस्थिति रहेको कार्यक्रम नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।