ठेकेदारको लापरवाही ः अध्यक्षले भत्काइदिए भवनको पिल्लर(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
जेठ २३ गते । जिल्लाको एक विद्यालयको भवन बनाउँदा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माध्यामिक विद्यालयको चार कोठे भवन निर्माण गर्दा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको हो । कमसल र गुणस्तरहिन सामाग्रीको प्रयोग गरेको पाइएपछि निर्माण गरिएका भवनका दुइवटा पिल्लर भत्काइएको छ ।

निर्माणधीन भवनको अनुगमनमा पुग्नुभएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गुणस्तरहिन सामाग्रीको प्रयोग गरेर निर्माण गरिएका दुइओटा पिल्लर कमजोर देखिएको भन्दै तत्काल भत्काइदिनुभएको हो । पिल्लरका साथै भ्ुई डलानमा पनि ठेकेदारले लापरवाही गरेको पाइएको छ । ढलानमा प्रयोग हुने गिटी,सिमेन्ट र बालुवाको अनुपात नमिलाई ढलान गरेको पाइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

पिल्लर राख्दा ठेकेदारले सिमेन्ट,बालुवा र गिटीको अनुपात नमिलाएको पाइयो हो गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘ठेकेदारको चरम लापरवाही देखियो पिल्लर अत्यन्तै कमजोर छ त्यसैले भत्काएर पुन बनाउन निर्देशन दिएको छु ।’ विद्यालय जस्तो संवेदनशिल क्षेत्रको भवन बनाउँदा विद्यालय व्यवस्थापन समिति,विद्यालय र स्थानीयहरुले ध्यान दिएको पाइएन उहाँले भन्नुभयो । बनाइएको संरचनालाई भत्काएर पुन निर्माण गर्दा सचेत हुन विद्यालय र वडालाई निर्देशन दिएका छौं अध्यक्ष भण्डारीले भन्नुभयो । डिजाइन स्टिमेट अनुसार ठेकेदारले काम गरेको देखिएन । सिमेन्ट,बालुवा र गिटीको अनुपात मिलाएर प्रयोग गरेको भेटिएन त्यसैले भत्काएर पुन निर्माण गर्न निर्देशन दिएको छौं उहाँले भन्नुभयो । भवनको पिल्लर मात्र होइन डिपिसी पनि कमजोर भएको भेटिएको छ अध्यक्ष भण्डारीको बताउनुभयो ।

विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा भवन बनाउँदा ठेकेदारको चरम लापरवाही देखिएकाले आगमी दिनमा पनि यस्तै प्रवृत्ती दोहोरिए कारवाही गर्ने चेतावनी अध्यक्ष भण्डारीले दिनुभएको छ । दुइ वर्ष अघि शिक्षा विकास तथा समन्वय इकाईको ३२ लाख रुपियाँमा नयाँ भवन बनाउन व्यवस्थापन समिति सँग सम्झौता भएको थियो । रकम खातामा राखेर वसेको व्यवस्थापन समितिले चालु आर्थिक वर्षमा मात्र भवन बनाउन थालेको हो ।

व्यवस्थापन समितिले निर्माण समिति बनाई आफैले भवन बनाउनुपर्नेमा स्थानीय ठेकेदारलाई बनाउन जिम्मा दिँदा लापरवाही भएको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको निगरानी र अनुगमन नहुँदा ठेकेदारले लापरवाही गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।