सुजन र इन्द्रले खोले तातोपानीमा रेन्बो ट्राउट फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
जेठ २३ गते । डेढ दशकको सहरको बसाईलाई विट मारेर यहाँका एक युवा गाउँ फर्किएर व्यवसायिक रुपमा माछापालन थाल्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका सुजन राम्जाली १७ वर्षे पोखरा वसाईलाई विट मार्दै गाउँ फर्किएर रेन्बो ट्राउट जातको माछाको व्यवसायिक उत्पादन सुरु गर्नुभएको हो । गाउँमा माछापालनको राम्रो संभावना देखेर नौलो तरिकाले व्यवसाय सुरु गरेको उहाँको भनाई छ । गाउँमा संभावना नदेखेर युवाहरु सहर तर्फ आकर्षीत भएका समय सुजनले भने गाउँमा अथाह संभावना देखेर फर्किनुभएको हो । स्थानीय स्रोत साधन र सीपलाई उपयोग गर्न सकेमा गाउँमा पनि पैसा कमाउन सकिने उदाहरण सुजनले प्रस्तुत गर्नुभएको छ ।

सुजन र स्थानीय अर्का युवा इन्द्र थापाले संयुक्त रुपमा तातोपानी रेन्बो ट्राउट फर्म दर्ता गरी व्यवसायिक रुपमा माछापालन सुरु गर्नुभएको हो ।

पोखरा बस्दा भुजुङ खोला स्थित गण्डकी ट्राउट फर्मको अवलोकन गरेपछि मन लोभिएर आयो राम्जालीले भन्नुभयो,‘गाउँमै फर्किएर व्यवस्थित तरिकाले माछापालन गर्ने सोच पलायो ।’ ‘आफ्नै जग्गा र पानीको स्रोत पनि प्रशस्त भएकाले माछापालनको संभावना देखेर गाउँ फर्किएको हुँ ।’ उहाँले भन्नुभयो । गाउँ फर्किएर नौलो व्यवसाय गरौं भन्ने मन जागेर आयो उहाँले भन्नुभयो । सहर बसेको युवा गाउँफर्कीएको देख्दा सुरुमा गाउँलेहरुले गाली गर्ने गरेको सुनाउँदै सुजनले भन्नुभयो ‘माछापालन देखेर गाउँलेहरु दंग परेका छन् । फर्ममा आएर गाउँलेहरुले तस्विर खिच्छन र मलाई बधाई दिन्छन् ।’

अहिले सम्म २० लाख रुपियाँ सम्म लगानी भइसकेको र आगमी दिनमा अझै व्यवसायलाई विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो । थप २० लाख लगानी गरेर व्यवस्थित फर्म सञ्चालन गर्ने योजना राम्जालीले बन्नुभएको छ । फर्मको अवलोकनमा आउने पर्यटकहरुलाई रेन्बो ट्राउटको स्वाद चखाउन भविष्यमा रेष्टुरेन्ट पनि सञ्चालन गर्ने सोच रहेको राम्जालीले बताउनुभयो । ठाडो खोलामा रहेको पानीको स्रोतलाई उपयोग गरेर ८ वटा व्यवस्थित पोखरी निर्माण गरिएको छ । पोखरीमा अहिले रेन्बो ट्राउट जातका २५ हजार भुराहरु छाडिएका छन् । तिनवटा पोखरीमा विक्री गर्न योग्य करिब ४ सय केजी भन्दा वढी रेन्बो ट्राउट माछा छन् । रेन्बो ट्राउट सँगै दुइपोखरीमा ग्रासकाप जातका माछा पनि छन् ।

महंगो भएपनि माछा स्वादिष्ट भएकाले उपभोक्ताले खुसी भएर खरिद गर्ने उहाँको भनाई छ । तातोपानीमा बास वस्न आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुले रेन्बो ट्राउटको स्वाद लिन चाहने भएकाले पनि बजारको कुनै समस्या छैन ।
तातोपानी बजारमा पर्यटकको चहलपहल हुने भएकाले उत्पादित माछा विक्रीमा कुनै समस्या नभएको राम्जालीले बताउनुभयो ।

प्रति केजी एकहजार तिनसय रुपियाँमा सहजै विक्री वितरण भएको छ उहाँले भन्नुभयो ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।’ गाउँपालिकाले तालिम र अनुदानको व्यवस्था गरिदिए उत्साह मिल्ने उहाँको भनाई छ ।