ताजा समाचार:
Search

जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई

विकल्प न्यूज/बेनी
जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो ।

जनताले तिरेको करको दुरुपयोग गर्दै नगरपालिकाले जनप्रतिनिधि देखि कर्मचारी सम्मलाई भत्ता नै भत्ताको सुविधा उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचन ताका कुनै तलब र भत्ता नलिने घोषणा गरेका कतिपय जनप्रतिनिधिहरुले पाइलै पिच्छै भत्ता खान थालेका छन् ।

जनप्रतिनिधिहरुको सुविधा र भत्ताका लागि मात्र नगरपालिकाले चालु आर्थिक वर्षमा एककरोड २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । जनप्रतिनिधिको पारिश्रमिक,भत्ता,भ्रमण, वैठक भत्ता,कार्यालय सञ्चालन र अन्य भत्ता भनेर बजेटको ठूलो राशी विनियोजन गरिएको हो । नगरपालिकाले अश्वभाविक रुपमा फजुल खर्च बढाउनु जनताले तिरेको कर माथिको ब्रह्मालुट भएको नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले बताउनुभयो । ’जनताले तिरेको करको सदुपयोग गर्नुका साटो उल्टै विभिन्न शिर्षक राखेर आफ्नो सुविधा बढाउनुले उनीहरु जनताप्रति जिम्मेवार छैनन् भन्ने पुष्टी हुन्छ ।’ उहाँले भन्नुभयो । जनप्रतिनिधिहरुको राजापारा देखियो संयोजक श्रेष्ठले भन्नुभयो,‘निर्वाचन जितेपछि जे गरे पनि हुन्छ भन्ने उनीहरुमा दम्भ वढ्यो ।’ बेनी नगरपालिकामा आर्थिक अनुशासनको कमि छ ।

विभिन्न शिर्षकका नाममा विनियोजन गरेको बजेट पारदर्शी रुपमा खर्च हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको संयोजक श्रेष्ठको बुझाई छ ।

यसै गरी पदाधिकारी पारिश्रमिक ६० लाख,पोशाक पाँच लाख,स्थानीय भत्ता १० लाख मंहगी भत्ता १० लाख कर्मचारी वैठक भत्ता पाँचलाख गरी ९० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । शिर्षक दिएर विनियोजन गरिएका वाहेक अन्य भत्ता भनेर २५ लाख विनियोजन गरिएको छ । यसै गरी पदाधिकारी वैठक भत्ता १० लाख,पदाधिकारी अन्य सुविधा ५ लाख विनियोजन गरिएको छ ।

पानी तथा विजुली महशुलमा ३ लाख,सञ्चार महशुल ५ लाख,इन्धन पदाधिकारी पाँच लाख,इन्धन कार्यालय प्रयोजन १० लाख र सवारी साधन मर्मत १० लाख रुपियाँ विनियोजन गरिएको छ । इन्धन कार्यालय प्रयोजन भनेर बजेट विनियोजन गरेको नगरपालिकाले फेरी अर्को शिर्षक इन्धन अन्य प्रयोजन शिर्षक थपेर बजेट विनियोजन गरेको पाइएको छ । मेशिनरी सामान मर्मत पाँचलाख,कार्यालय सञ्चालन खर्च २० लाख,इन्धन अन्य प्रयोजन २ लाख,कर्मचारी तालिम पाँचलाख,अनुगमन तथा मूल्याङ्कन पाँच लाख,भ्रमण खर्च १० लाख, विविध खर्च २० लाख,सभा सञ्चालन खर्च ७ लाख,घर भाडा ८ लाख,अन्य भाडा २ लाख र भैपरी आउने चालु खर्च ३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्थानीय तह कार्यान्यनको पहिलो चरणमा रहेको समयमा स्थानीय तहका जनप्रतिनिधिले गर्ने अपारदर्शी क्रियाकलापले जनतामा संघियताप्रति नै नकरात्मक मनोविज्ञान सिर्जना हुने देखिन्छ । जनताबाट संकलन गरेको करलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी रोजगारी र उत्पादनलाई बृद्धि गर्ने उद्देश्य हुनुपर्दछ ।

यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा सवारी साधन खरिदमा ७७ लाख रुपियाँ विनियोजन गरेको छ । फर्निचर तथा फिक्चर्समा १० लाख,प्रवद्र्धनात्मक कार्यक्रम ५ लाख,परामर्श सेवा अध्ययन अवलोकन भ्रमण तालिम तथा अनुसन्धान कार्यका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

विभिन्न शिर्षकमा बेनी नगरपालिकाले विनियोजन गरेको बजेट विवरण

१ पदाधिकारी पारिश्रमिक ६० लाख
२ पोशाक ५ लाख
३ स्थानीय भत्ता १० लाख
४ महगी भत्ता १० लाख
५ कर्मचारी वैठक भत्ता ५ लाख
६ अन्य भत्ता २५ लाख
७ पदाधिकारी वैठक १० लाख
८पदाधिकारी अन्य सुविधा १० लाख
९ पानी तथा विजुली महशुल ३ लाख
१० सञ्चार महशुल ५ लाख
११ इन्धन पदाधिकारी ५ लाख
१२ इन्धन कार्यालय प्रयोजन १० लाख
१३ सवारी साधन मर्मत १० लाख
१४ मेशिनरी सामान मर्मत ५ लाख
१५ कार्यालय सञ्चालन २० लाख
१६ इन्धन अन्य प्रयोजन २ लाख
१७ कर्मचारी तालिम ५ लाख
१८ अनुगमन तथा मूल्याङ्कन ५ लाख
१९ भ्रमण खर्च १० लाख
२० विविध खर्च २० लाख
२१ सभा सञ्चालन खर्च ७ लाख
२२ घर भाडा ८ लाख
२३ अन्य भाडा २ लाख
२४ भैपरी आउने चालु खर्च ३ लाख
२५ करार सेवा शुल्क ४० लाख
२६ अन्य सेवा शुल्क ३ लाख

साथै विभिन्न तालिम र गोष्ठी भनेर पनि नगरपालिकाले लाखौ रकम खर्च गरेको छ । मेला पर्व र जात्रा शिर्षकमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
आगमी आर्थिक वर्षमा यस्ता फजुल खर्चहरुलाई घटाउदै जाने लक्ष्य रहेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कतिपय जनप्रतिनिधिहरुको व्यक्तिगत इच्छा र चाहनाका कारण पनि चालु खर्च बढेको उहाँले प्रतिक्रिया दिनुभयो । विनियोजन भएको सवै बजेट खर्च भएको छैन प्रमुख श्रेष्ठले भन्नुभयो ‘वास्तविक खर्च त्यस्तो छैन कतिपय खर्चहरु भएका छैनन् ।’ ‘कर्मचारीको तलबमा खर्च भएको छ । अनावश्यक खर्चलाई घटाउने हो । म यसमा सकरात्मक छु । सवै कुराको कन्ट्रोल मैले गर्न सकिरहेको छैन यो कुरा हजुरहरुले पनि बुझ्नुभएकै छ ।’ प्रमुख श्रेष्ठले भन्नुभयो । कतिपय खर्चहरु निर्णय गरेर भएका छन् । नगरी नहुँने खर्च गर्नुप¥यो तर अनावश्यक खर्चलाई कटौती गर्ने हाम्रो उद्देश्य छ । प्रमुख श्रेष्ठले भन्नुभयो ।