ताजा समाचार:
Search

जिल्ला समन्वय समितिद्धारा विकास योजनाको अनुगमन सुरु

विकल्प न्यूज /बेनी
म्याग्दी, ८ जेठ ।

जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५÷०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो ।
प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका योजना संगै स्थानीय तहका गौरबका योजनाहरुको अनुगमनको काम सुरु गरिएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । जिसस प्रमुख केसी, जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला , जिसस सदस्य बोमायाँ गर्वुजा, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगर, भौतिक पूर्वाधार कार्यालयका प्राविधिक घनश्याम रोकासंगै पत्रकारहरुको टोलीले मंगलवार अन्नपूर्ण गाउँपालिकामा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ ।

टोलीले प्रदेश सरकार मार्फत बजेट विनियोजन भएर सडक स्तरोन्नतीको काम सुरु भएको महभिर–राम्चे–नागी सडक अन्र्तगत महभिर– दोसल्ले खण्डमा भैरहेको स्तरोन्नतीको अनुगमन गरेको छ । प्रदेश सरकार मार्फत सडक स्तरोन्नतीको लागि बजेट विनियोजन भएको रु ५० लाख बजेटलाई ठेक्का प्रकृया मार्फत कार्यान्वयनमा ल्याईएको छ ।

त्यसैगरि गाउँपालिकाको रु ३० लाख बजेट मार्फत ट्याक निर्माण भएको दोसल्लेदेखि औल जोड्ने सडकको समेत अनुगमन गरिएको छ । टोलीले राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत अन्नपूर्ण गाउँपालिका–२ तातोपानिमा सडक फराकिलो बनाउन र बजार संरक्षणको लागि निर्माण गर्न लागिएको पक्कि पर्खाल निर्माण योजनाको समेत अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा तातोपानी बजार संरक्षण र सडक फराकिलो बनाउनका लागि निर्माणधिन पक्कि पर्खालको योजनामा निर्माण कार्य ढिलाई भएको देखिएकाले तत्काल निर्माण कार्यलाई गति दिन सम्बन्धीत निर्माण कम्पनी र आयोजनालाई ध्यानकर्षण गराईने जिसस प्रमुख केसीले बताउनुभयो ।

जिससले यस अघि धवलागिरी गाउँपालिकामा सञ्चालित ठुला विकास निर्माण योजनाहरुको अनुगमन गरिसकेको छ । जिससको बार्षिक कार्ययोजना अनुसार जेठ महिनाभित्र जिल्लाका सबै स्थानीय तहमा पुगेर विकास निर्माण योजनाहरुको अनुगमन गर्ने र अनुगमनको क्रममा भेटिएका कमिकमजोरीलाई सुधार गर्न सम्बन्धित स्थानीय तह र कार्यालयलाई सुझाब दिइने जिल्ला समन्वय अधिकारी कोइरालाले जानकारी दिनुभयो ।