ताजा समाचार:
Search

दग्नामवासीको मौलिक संस्कृति – लिङ्गो जुधाई

विकल्प न्यूज\बेनी
जेठ ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा दुवै बराबरी भएका छन् । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा दुवै गाउँ बराबरी भएको स्थानीय अगुवा शेरबहादुर गुर्वजाले बताए ।

गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको भएपनि स्थायी रुपमा गैरी गाउँको उभिएको कारण दुवैलाई बराबरी भएको मानिने उनले बताए । गर्वुजाका अनुसार अग्लो लिंगोलाई विजयीको रुपमा मानिदै आएपनि स्थायी रुपमा उभिएमात्र विजयी हुने बताउदै दुवै बराबरी भएको बताए ।

दुई गाउँको युवायुवतीहरुमा भावनात्मक एकता र परम्परागत सस्कृतिलाई संरक्षण गर्न यो पर्व मनाउदै आएका छन् । दग्नाममा विगत लामो समयदेखीको ईतिहाँस बोकेको लिंगो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउने गर्छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएको अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा प्रतिस्पर्धा गराईन्छ ।
स्थानिय पुख्यौली गित, नृत्य, पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी लिंगो जुधाएका थिए ।

लिंगो जुधाईलाई रमाईलो संगै गाउँको प्रतिष्ठालाई जोडीएर हेर्ने भएकाले दुवै गाउँका स्थानियले निकै मेहनत गरि अग्ला लिङ्गो सिंगारेर प्रतिस्पर्धामा लैजाने चलन रहेको स्थानीय अगुवा गुन पुनले बताए ।जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनाको पहिलो वा दोस्रो साताको मंगलवारको दिन बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सुख शान्ती र एक गाउँ र अर्को गाउँमा भावनात्मक एकताको मजवुदको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए ।

भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने जनविश्वास अनुसार भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुदै आएको छ। भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन् ।

दग्नामबासीको महत्वपुर्ण पर्व भएकाले भुमे पुजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानियबासी समेत घर फर्कने हुँदा यो पर्वले आफन्तहरुको जमघट गराउने महत्वपुर्ण माध्ययम बनेको स्थानीयबासी बताउँछन् । दग्नाममा भुमे पुजाको अवसरमा विविध खेलकुद तथा साँस्कृतिक मेला समेत लाग्ने गर्दछ । धिरन खत्री