रघुगंगाका गाउँगाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी
जेठ ७ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपियाँ बजेट विनियोजन गरेको छ । खेलक्षेत्रको विकासका लागि गाउँपालिकाले खेलकुद मैदान निर्माण,मर्मत,तारझाली लगाउने र स्टेज निर्माण गर्न ८२ लाख ५५ हजार रुपियाँ विनियोजन गरेको हो ।

विनियोजन गरेको यो ठूलो रकम हो । गाउँपालिकाका सवै वडाहरुमा व्यवस्थित खेलमैदान निर्माण गर्नका लागि उक्त बजेट विनियोजन गरिएको हो। विनियोजित बजेटबाट खेलमैदान निर्माण,स्टेज,बास्केटबल पोल राख्ने र तारवार लगाएर खेलमैदानलाई व्यवस्थित बनाइएको हो । भएका पुराना खेलमैदानलाई मर्मत गरेर नयाँ बनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ झिँमा नयाँ खेलकुद मैदान निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँचलाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको बजेटका साथै स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर झिँमा व्यवस्थित खेलकुद मैदान निर्माण गरेका छन् ।

पाखापानीमा तिन लाख रुपियाँ बजेटबाट खेलकुद मैदान सम्माउने काम गरिएको छ । पाखापानीको रायखोर स्थित खेलकुद मैदानलाई थप व्यवस्थित बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट घेराबार लगाउने र प्याराफिट निर्माण गरेका छन् ।

गाउँपालिकाको दुर्गम ८ नम्बर कुइनेमंगलेका विभिन्न स्थानहरुमा खेलकुद मैदान निर्माणका लागि १८ लाख ७० हजार रुपियाँ बजेट विनियोजन गरेको छ । पात्लेखर्कमा रहेको खेलमैदानलाई घेराबार लगाएर व्यवस्थित गरिएको छ । यस्तै दुवाडीमा रहेको खेलमैदानलाई मर्मत सम्भार गरिएको छ ।

गाउँपालिकाका योजना शाखाका प्रमुख योग्रेन्द्र बानियाँले दिएको जानकारी अनुसार वडा नम्बर ७ चिमखोमा रहेको खेलमैदानलाई व्यवस्थित बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा १४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटबाट घेराबार निर्माण गरिएको छ ।

४ नम्बर वडा दग्नाम र दर्मिजामा पनि खेलमैदान निर्माणका लागि गाउँपालिकाबाट १८ लाख पचासहजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यी दुवै स्थानका योजना सम्पन्न भएका छन् । ३ नम्बर वडा पिप्लेमा पाँचलाख ८५ हजार र २ भगवतीमा दुइलाख रुपियाँ बजेटबाट खेलकुद मैदान निर्माण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख बानियाँले जानकारी दिनुभयो । शाखा प्रमुख बानियाँका अनुसार चालु आर्थिक वर्षमा खेलक्षेत्रको विकासका लागि विनियोजित योजनाहरु सवै सम्पन्न भएका छन् ।

गाउँगाउँमा खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । गाउँपालिकाका सवै वडामा व्यवस्थित खेलमैदान निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

६ नम्बर वडाको दुर्गम गाउँ रायखोरमा निर्माण गरिएको खेलमैदान । तस्विर ठाकुरप्रसाद आचार्य