ताजा समाचार:
Search

जामुनाखर्क माविले जिल्लामा पहिलोपटक शैक्षिक महोत्सव गर्ने

विकल्प न्यूज/बेनी
जेठ ६ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले जिल्लामा पहिलो पटक शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । शैक्षिक क्षेत्रको विकास र संभावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गर्न लागेको हो ।

“शिक्षा,विज्ञान,प्रविधि,कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ यहि जेठ १५ देखि १८ सम्म शैक्षिक महोत्सव गर्न लागेको सोमबार बेनीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

महोत्सवमा शिक्षा,साहित्य,कला,संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री पदर्शन गरिने विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गनाले जानकारी दिनुभयो । महोत्सवमा शैक्षिक जानकारी मुलक स्टलहरु निशुल्क रुपमा राख्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

जिल्लाभरका माध्यमिक विद्यालयले महोत्सवमा भाग लिन सक्ने छन् । महोत्सवमा समृद्धिका लागि शिक्षा शिर्षकमा जिल्ला स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता,मोटिभेसनल कक्षा र हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिने छ । हाजिर जवाफ प्रतियोगितालाई नयाँ तरिकाले सञ्चालन गरिने प्रअ ढुङ्गानाले बताउनुभयो ।

लेखकहरुको जिवनी,किताब र तस्विरहरु महोत्सवमा पदर्शनीमा राखिने छ । यसले गर्दा नयाँ पुस्ताका युवायुवतीहरुलाई जानकारी हुनुका साथै प्रेरणा मिल्ने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा शिक्षा विदहरुले जिल्लाको संभावना र चुनौतीका वारेमा कार्यपत्र प्रस्तुत गर्नुहुने प्रअ ढुङ्गानाले बताउनुभयो ।

प्रध्यापक डा. कर्ण बानियाँले शैक्षिक कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा विदहरुबाट शैक्षिक बहश गरिने कार्यक्रम रहेको प्रअ ढुङ्गानाले बताउनुभयो । महोत्सव सञ्चालन गर्न करिब ४ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा भाग लिनका लागि जिल्लाका सवै माविस्तरका शैक्षिक संस्थाहरुलाई पत्राचार गरिसकेको आयोजक विद्यालयले जनाएको छ ।
महोत्सवको उद्घाटनका दिन विद्यालय,शैक्षिक तथा सामाजिक एवम् स्थानीय संघ संस्थाले आफ्नो पोसाक,मौलिक भेषभूषा,संस्कृति झल्कने झाँकी सहित ¥याली निकालिने आयोजकले जनाएका छन् ।