ताजा समाचार:
Search

तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य /मुस्ताङ
जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य ।

तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेपछि ताल पर्यटनको केन्द्र बन्न थालेको हो ।

मुस्ताङ जाने जो कोही ढुम्बा ताल नपुगी फर्किदैनन् । तालको सुन्दरतामा रमाउने र तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने धेरैको रहर हुन्छ । तालको सुन्दरता देखेर आफू मोहित भएको पहिलो पटक पुग्नुभएकी पर्वतकी सञ्चारकर्मी माया अधिकारीले अनुभव सुनाउनुभयो । ‘साच्चिकै स्वर्गको टुक्रा जस्तै लाग्यो कुनै शब्दमा बयान गर्न सक्दीन ।’
मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल पछिल्ला केही वर्ष यता चर्चामा आउन थालेको हो ।निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर एकआपसमा माया साटासाट गर्ने गर्दछन् ।

यातायात सञ्जाल सँग मुस्ताङ जोडिए सँगै पर्यटक आगमनमा वृद्धि भएको छ । उपल्लो मुस्ताङ,कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गर्दछन् । ढुम्बा ताल पुग्नका लागि सडक विस्तार गरिएको छ । भने बास वस्नका लागि होटल खोलिएको छ । तालको सुन्दरतालाई चलचित्रमा उर्तान पछिल्लो समय ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेको छ । नेपाली चलचित्र ‘जेरी’ को पहिलोपटक यही तालमा छायाँङ्कन भएपछि तालको थप चर्चा हुन थालेको हो ।

तालले नयाँ पुस्तालाई आकर्षीत गरेको छ स्थानीय युवती रुपीका थकालीले भन्नुभयो ‘मुस्ताङ आउने प्रायःयुवायुवतीहरु ढुम्बा ताल पुग्छन् ।’ ढुम्बा तालको अवलोकन नगरी फर्किदा भ्रमण अपुरो हुने उहाँको भनाई छ ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ । तालबाट पूर्वमा नीलगिरी र पश्चिममा धौलागिरी हिमाल दृश्यावलोकन गर्न सकिन्छ । तालको अवलोकनमा पुग्ने पर्यटकको बसोबासको व्यवस्थाका लागि होटल तथा लजको व्यवस्था गरिएको छ । यहाँ देनिक रुपमा एकसय देखि पाँचसय सम्म पर्यटकहरु आउने गरेको पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।

ताल सम्म पुग्नका लागि जोमसोमबाट सडक यातायात पुगेको छ । तालको संरक्षण र भौतिक पूर्वाधारको निर्माणका लागि घरपझोङ गाउँपालिकाले डिपिआर तयार पारेको छ ।

ताल मुस्ताङको नै गहना भएकाले यसको संरक्षण र प्रचारप्रसार गरी पर्यटनको केन्द्र बनाउन लागिएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मिला गुरुङले बताउनुभयो ।तालको सौन्दर्यलाई बढाउन भौतिक पूर्वाधारको निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तालको वरपरका क्षेत्रलाई समेटेर पार्क निर्माण र रातको समयमा लाइटको व्यवस्था गर्ने योजना रहेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

                                                                     ढुम्बा ताललाई पर्यटनको केन्द्र बनाउँछौं

शर्मिला गुरुङ
उपाध्यक्ष
घरपझोङ गाउँपालिका मुस्ताङढुम्बा ताल मुस्ताङको प्राकृतिक सम्पत्ति हो । तालको संरक्षण र प्रचाप्रसारका लागि गाउँपालिकाले योजना बनाएको छ । ताल संरक्षणका लागि गाउँपालिकाले डिपिआर तयार पारी ताल वरपर भौतिक पूर्वाधारको निर्माण गर्ने सोच राखेका छौं । पछिल्लो समय तालको प्रचारप्रसार भएकाले मुस्ताङ आउने पर्यटकहरु तालको अवलोकन गर्न पुग्ने गर्दछन । प्राकृतिक र धार्मिक हिसावले पनि तालको ठूलो महोत्व छ ।