चिमखोला लाई सडक सञ्जाल सँग जोड्न माग

विकल्प न्यूज/बेनी
जेठ १ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयहरुले दग्नाम चिमखोला सडकलाई चाँढो पूर्णता दिन माग गरेका छन् । भौगोलिक रुपमा विकट रहेको चिमखोलालाई सडक सञ्जाल सँग जोड्न चिमखोलावासीहरुले माग गरेका हुन ।
रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चिमखोलावासीहरुले आवश्यक बजेटको व्यवस्था गरी सडक विस्तारलाई तिव्रता दिन सुझाव दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा चिमखोलालाई नदी कटानबाट जोगाउन, अमर माविमा प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न, कृषि र पशुपालनलाई जोड दिन सुझाव दिएका छन ।यसैगरी चिमखोला स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा सञ्चालन गर्न पनि माग गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सबै वडामा एक वटा गौरवको आयोजना सञ्चालन गर्न लागिएको, टुक्रे योजनालाई निरुत्साहीत गरिएको, चिमखोला जोड्ने सडकलाई गाउँपालिको प्राथमिकता दिएको र प्रदेश तथा संघीय सरकारसंग पहल गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले मार्गदर्शनको आधारमा आगामी आर्थिक वर्षका लागि झिँ, पाखापानी, कुइनेमंगले र चिमखोलामा योजना तर्जुमाका साथै एकिकृत अनुगमन गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको निजी सचिवालयका सदस्य गम पुन, वडा सदस्य लक्ष्मण पुन र नेकपाका नेता ओम पुनले मन्तब्य व्यक्त गरेका थिए ।

वडा अध्यक्ष देउप्रसाद पुनको अध्यक्षता, सचिव मेखबहादुर भुजेलको सञ्चालन र म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।सोही अवसरमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया गरिएको थियो । दग्नाम दर्मीजा चिमखोला सडकलाई प्राथमिकता दिएर बजेट बिनियोजन र योजना तय गर्न सुझाव दिएका छन ।

३६ जना जेष्ठ नागरिक, अपांग, एकल महिला र बिधवालाई गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ बराबरको सामग्री र दोसल्ला सहित सम्मान गरिएको थियो ।

बीस जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफूले पाउने पारिश्रमिकबाट स्थापना गर्नुभएको भवबहादुर भण्डारी अक्षयकोषबाट अमर माविको विज्ञान विषयको शिक्षकको एक महिनाको तलबका लागि प्रअ पृथबहादुर थापालाई बीस हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

आयुर्वेद स्वास्थ्य शाखाका कविराज निरिक्षक लक्ष्मण चालिसेले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, औषधि वितरण र योजना शाखा प्रमुख योगेन्द्र बानियाले योजना छनौटमा सहजिकरण गर्नुभएको थियो ।