रघुगंगाका पशुपंक्षीपालक कृषकलाइ ३ दिने तालिम

विकल्प न्यूज/बेनी
म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२ जना कृषकहरुको सहभागीता रहेको थियो । तालिम समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले रघुगंगामा पशुपंक्षी पालनको सम्भावना लाई उजागर गर्न गाउँपालिकाले समेत यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।उहाँले तालिममा सिकेका शिपहरुलाई व्यवहारमा उतार्न सकेमा पशुपंक्षी पालनमा हुने सम्भावित जोखिम कम हुने र व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालित तालिममा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवन आचार्य, पशु सेवा प्राविधिक सुवास रेग्मी, पशु स्वास्थ्य प्राविधिक गणेश रिजाल, गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज सुवेदी, पशु स्वास्थ्य प्राविधिक सुजन विकले पशुंपक्षि पालन गर्ने तरिका, रोगको पहिचान र उपचार, पशुपालनको फर्म व्यवस्थापन लगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा प्रयोगात्मक अभ्यास समेत गराईएको थियो ।विज्ञ केन्द्र म्याग्दीका प्रमुख आचार्यको अध्यक्षतामा भएको तालिम समापन समारोहमासहभागीको तर्फबाट समायाँ घर्ति र प्रेम चन्दले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभएको थियो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पशु सेवा प्राविधिक सुवास रेग्मीले गर्नुभएको थियो ।