ताजा समाचार:
Search

‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’ थापालाई

विकल्प न्युज
बेनी जेठ १ गते ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट प्रहरी हवल्दार अंगबहादुर थापालाई सम्मान गरेको छ । जिल्ला कारागार कार्यालय म्याग्दीमा सुरक्षा गार्ड दरबन्दी भई हाल अस्थायी प्रहरी बिट मङ्गलाघाटमा कार्यरत हवल्दार थापालाई मङ्गलबार सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा आयोजित एक समारोहमा म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले उनलाई कदरपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए । सम्मानपछि बोल्दै प्रनाउ मरासिनीले राम्रो काम गर्ने व्यक्ति ओझेलमा नपर्ने भन्दै पहिलोपटक म्याग्दीमा अवार्डको घोषणा गरी पुरस्कृत गरिएको बताए । उनले हरेक महिना एकजना उत्कृष्ट प्रहरी कर्मचारीलाई छनोट गरेर अवार्डमार्फत सम्मान गरिने जानकारी दिएका छन् ।

सम्मानित प्रहरी हवल्दार थापाले गएको बैशाख ८ गते अन्नपूर्ण–८, राम्चे घरभई बेनी सामुदायिक माविको कक्षा १० मा अध्ययनरत १५ वर्षीय हेमचन्द्र गर्बुजालाई म्याग्दीखोलाबाट उद्धार गरेका थिए । पौडी खेल्दै गर्दा गर्बुजालाई खोलाले बगाउँदा प्रहरी हवल्दार थापाले आफ्नो ज्यानको बाजी थापेर खोलामा पसी उनलाई जीवितै उद्धार गरी आफन्तलाई बुझाउन सफल भएका थिए । उक्त साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरुप प्रहरी हवल्दार थापालाई नगद र कदरपत्रसहित ‘बेस्ट पुलिस अफ द् मन्थ अवार्ड’बाट सम्मानित गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जारी गरेको साङ्गठनिक नीति तथा प्राथमिकतालाई अनुसरण गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित गत बैशाख महिनादेखि नयाँ कार्यक्रम पुसिल अफ द मन्थ सुरु गरेको थियो । पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन गरिएको छ ।