महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया

विकल्प न्युज
बेनी जेठ १ गते ।
बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मनोज घिमिरेले मधुमेह र उच्च रक्तचाप, मेडिकल अधिकृत डा. अनिल पाण्डेले नसर्ने रोगको रोकथाम र स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा नसर्ने खालका रोगहरु सुगर, प्रेसर, क्यान्सर जस्ता रोगबाट बच्न खानपान, सरसफाई र नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्नुपर्ने बताइएको थियो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विषादीरहित अर्गानिक उत्पादन प्रयोग गर्ने र लोकल उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । कार्यक्रम नगर प्रमुख श्रेष्ठको अध्यक्षता र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, सरोकारवाला संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुको सुगर तथा प्रेसरको समेत जाँच गरिएको थियो ।