ताजा समाचार:
Search

अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला

विकल्प न्युज
बेनी बैशाख ३० गते ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा म्याग्दीका जिल्ला सदस्य शेरबहादुर केसीले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै नेता केसीले पार्टी एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बताएका छन् । उनले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताए ।


कार्यक्रममा नेकपाका जिल्ला सदस्य बुद्धि पुन, ओमबहादुर फगामी, नारायण पुन, सुवास विक, शिक्षक महासंघ अन्नपूर्णका अध्यक्ष रमन पुन, जिल्ला सदस्य प्रदीप पुनले मन्तव्य राखेका थिए । कार्यक्रम अन्नपूर्ण गाउँ सङ्गठन कमिटी अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्णबहादुर पाईजाको सञ्चालन र सदस्य विष्णु नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।

यसअघि अन्नपूर्ण गाउँपालिका–६, घारमा निर्वाचित नेकपाका पदाधिकारीहरुको शपथग्रहण गराइसकिएको छ । पूर्व सांसद तथा नेकपाको गण्डकी प्रदेश सदस्य नवराज शर्माको प्रमुख आतिथ्यमा शपथग्रहणको कार्यक्रम सम्पन्न गरिएको नेकपा अन्नपूर्णले जनाएको छ ।