पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना

प्रताप बानियाँ/ विकल्प न्युज
म्याग्दी, बैशाख २९ गते ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो ।

विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । माथिल्लो कक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन र अध्यापन गराउने शिक्षकको व्यवस्थापनका लागि अक्षयकोषको अवधारणा ल्याइएको अक्षयकोषका सचिव एवं विद्यालयका शिक्षक शिव बानियाँले जानकारी दिए ।

अक्षयकोष दर्ता गरेको १ महिनाको अवधिमा मात्रै हालसम्म १३ लाख २४ हजार नौसय १८ रुपैयाँ सङ्कलन भैसकेको छ । अक्षयकोषमा व्यक्तिगत रुपमा भूतपूर्व वडा अध्यक्ष ८५ वर्षीय ज्येष्ठनागरिक दधिलाल पौडेलले सबैभन्दा धेरै एकलाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । यसैगरी देउपूर्ने आँटी सामुदायिक वन पुलाचौरबाट पाँचलाख रुपैयाँ सहयोग भएको छ । एक करोड रुपैयाँ पु¥याउने लक्ष्यसहित सुरुवात गरिएको अक्षयकोषबाट प्राप्त व्याजले विद्यालयको शैक्षिक विकासमा खर्च गरिने अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।

अक्षयकोष अनावरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले समयको परिवर्तन र माग अनुसार प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । उनले विद्यालयको विकासमा सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताउँदै शैक्षिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।

बेनपा–५, का वडा अध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक लक्ष्मण बानियाँ र विद्यालयका पूर्व अध्यक्ष एवं म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समितिका सदस्य हेमराज शर्माले छोटो समयमा नै विद्यालयले प्रगति हासिल गरेको बताउँदै विद्यालयको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष भोजबहादुर कार्की, विद्यालयका भूपू कोषाध्यक्ष समेत रहेका दानदाता दधिलाल पौडेल, भूपू अध्यक्ष गणेशबहादुर हमाल र शिक्षक अभिभावक संघका पूर्व सदस्य थ्रीलाल सुवेदीले मन्तव्य राखेका थिए ।

कार्यक्रम अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, उपाध्यक्ष नरबहादुर विकको स्वागत र सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।