ताजा समाचार:
Search

म्याग्दी मौवाफाँटमा ढुङगा चिनेर पदमार्ग

विकल्प न्युज
बेनी बैशाख २९ गते ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।

मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताए । उनका अनुसार छ व्यक्तिले करीब ४० दिन समय खर्चेर पदमार्ग बनाएका थिए ।

सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएको र यसबाट स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिन हुने भएकाले एक महीनाभन्दा बढी समय लगाएर पदमार्ग बनाइएको अध्यक्ष शर्माले बताए । वर्षातको समयमा खोला बढेपछि माछेखोलाका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि समेत घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

अहिले खोलाको किनारमा परम्परागत रुपमा आवतजावतका लागि प्रयोग गरिँदै आइएको ठाउँमा ढुङ्गा चिनेर पदमार्ग बनाएपछि वर्षातको समयमा समेत बालबालिकादेखि वृद्धवृद्धासम्म सहजरूपमा आवतजावत गर्न सक्ने भएका छन् । खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुङ्गाकै फड्केसमेत बनाइएको छ ।

मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारका लागि सानो फड्के उपयुक्त नहुने भएकाले थप सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरिएको बताइएको थियो । रासस