ताजा समाचार:
Search

नेपाली काँग्रेस गुर्जाका सभापति नेकपामा प्रवेश

विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।  धौलागिरि गाउँपालिका १ गुर्जाको नेपाली काँग्रेस गाउँ इकाई समितिका सभापति प्रेमबहादुर छन्त्याल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्नुभएको छ । शनिबार गाउँपालिका केन्द्र मुनामा नेकपाद्धारा आयोजित कार्यक्रममा छन्त्याललाई नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले पार्टी प्रवेश गराउनुभएको हो ।

यसै गरी सोही कार्यक्रममा राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिसस म्याग्दीका सदस्य धवलागिरी गाउँपालिका १ गुर्जाका सुकमाया छन्त्याल पनि नेकपामा प्रवेश गर्नुभएको हो । राप्रपाबाट वडा सदस्यमा निर्वाचित छन्त्याल सोही पार्टीको प्रतिनिधित्व गर्दै जिसस सदस्य बन्नुभएको थियो ।

ताकमका नेपाली काँग्रेसका वडा कार्यसमिति सदस्य धनबहादुर मगर र राप्रपा गुर्जा गाउँ समितिका सदस्य तुलाराम नेपाली पनि नेकपामा प्रवेश गर्नुभएको छ । मुनामा आयोजित गाउँपालिकाका पदाधीकारी तथा सदस्यहरुको सपथग्रहण तथा पूर्ण बैठकमा नेकपा म्याग्दीका सचिव श्रेष्ठ, जिल्ला सदस्य रेशम जुग्जाली, नेता कृष्णकुमार विश्वकर्मा, गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदी, बेगप्रसाद गर्बुजा लगायतले उनिहरुलाई पार्टी मा स्वागत गर्नुभएको थियो ।

सपथग्रहणपछि जिल्ला सचिव श्रेष्ठ र सदस्य जुग्जालीले एकता प्रक्रिया पुरा भएसंगै नेकपाको संगठन निर्माणलाई तिब्रता दिने, स्थानीय, प्रदेश र संघीय सरकार मिलेर विकास निर्माण तथा जनताको समस्या समाधान र आवश्यकता पुरा गर्न लाग्ने बताउनुभयो ।