ताजा समाचार:
Search

प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निमार्ण सुरु 

सुरेन गुरुङ /विकल्प न्युज
बेनी बैशाख २७ गते ।

नेपालकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित म्याग्दीको अन्नपुुर्ण गाउँपालिकामा रहेको घोडेपानी जाने सडक निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडामा पर्ने चित्रे देखि सोही वडाको घोडेपानी जोड्ने ५ किलोमिटर सडकको ट्याक निर्माणको काम सुरु भएको उपभोत्ता समितिका अध्यक्ष बिरेन गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच किलोमिटर सडक सात मिटर फराकिलो हुनेछ । यसैगरी अन्नपूर्ण गाउँपालिकाले पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट तथा गाउँपाबाट विनियोेजित १५ लाख रुपैयाँ बजेटबाट सडक निर्माण कार्यलाई अगाडी बढाईएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

प्रसिद्ध घोडेपानीमा जाने सडक निर्माणमा दुई गाउँको विचमा विवादीत बनेपछि गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन मगरको पहलमा बुधबार चित्रेमा बसेको दुई गाउँको संयुक्त बैठकबाट रुटमा सहमति भएपछि निर्माण कार्यलाई अगाडी बढाइएको हो । सडक निर्माणलाई चित्रे देखी घोडेपानी तथा कास्की उल्लेरी हुँदै पोखरा राजमार्ग जोड्ने गाउँपालिकाको योजना भएको गाउँपालिका अध्यक्ष क्याप्टेन पुन मगरले जानकारी दिनुभयो ।

चित्रेको खेलमैदानदेखि अन्नपूर्ण होटेलको पछाडीबाट सडक निर्माणमा दुई गाउँबासीहरु सहमत भएका छन् । सडक निर्माण भएपछि घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवतजावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । हाल पोखरेबगरदेखि चित्रेसम्म सडककाे पहुँच पुगेकाे छ ।