तिम्ल्याह शिशू जन्माएका परियार दम्पतीलाई प्रदेश सरकारको सहयोग

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १७ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीमा तिम्ल्याह शिशू जन्माएका एक दम्पतीलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा अपांग अशक्त असाहयलाई उपचार सहयोग कार्यबिधि अनुसार कमला र समिट परियारको दम्पतिलाई एकलाख  रुपैयाँ उपलब्ध गराइएको हो ।

मन्त्रालयकी महिला विकास निरिक्षक देवी शर्मा र मन्त्री पुनका निजी सचिव चन्द्रमणी सापकोटाले जिसस प्रमुख देवेन्द्र केसी मार्फत समिटलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

२२ वर्षीया कमलाले गत मंसिर १० गते पोखराको मणिपाल शिक्षण अस्पतालमा जन्माएका तीन मध्य एक सन्तानको उपचारको क्रममा मृत्यु भएको थियो भने एक छोरा र एक छोरी सकुशल छन् ।

शल्यक्रिया मार्फत जन्मिएका उनिहरुको तौल कम थियो । ४२ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । उपचारका लागि हिलापोखरीको टोल सुधार समितिले एक लाख ६५ हजार रुपैयाँ सहयोग जुटाएको थियो ।

हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा एक लाख तीन हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । यसैगरी बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले दश हजार र कोषका अध्यक्ष राजेश शाक्यले पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

राजुलाई १२ सम्म पालनपोषण र पढाउनुभएकी वडा सदस्य नरकुमारी गुरुङले व्यक्तिगत रुपमा दुई हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ ।

आठ वर्षको हुँदा बुवालाई गुमाएका समितकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी बुढाथोकीले राजुलाई कक्षा १२ सम्म पढाउनुभएको थियो ।

चार वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको छिमेकी तारानाथ पौडेलले बताउनुभयो । उपचारका लागि चार लाख पचास हजार रुपैयाँ खर्च भएको थियो ।