प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य

DSC06139
विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् ।

सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यसै गरी जिल्लाको ग्रामिण क्षेत्रमा चल्ने यातायातका साधनहरुले पनि यात्रुहरुबाट चर्को भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

दसंै मनाउन राखु पिप्ले स्थित आफन्तकहाँ आएर पोखरा जान लागेकी बिष्णु जिसीले माईक्रोबसलाई एक हजार रुपैयाँ भाडा तिरेको बताइन । उनले सोमबार दिनभर गाडीको खोजी गरेपनि नपाएपछि साँझ उनिहरुले भनेजती भाडा तिरेर पोखरा जानुपरेको बताइन ।

सामान्य अवस्थामा बेनी पोखरा रुटको बसभाडा प्रतिव्यक्ति २१० रुपैयाँ हो । यसैगरी म्याग्दीका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा क्षमत्ता भन्दा बढी यात्रुहरु जोखिमपूर्ण तरिकाले यात्रा गरिरहेका छन् ।

भारतले गरेको नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा न्युन मात्रामा सार्वजनिक सवारी साधन चलेका छन् । भनेको समयमा गाडी नपाउने र पाएपनि निकै दुख, कष्टका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाबाट सोमबार बेनी आउनुभएकी निरमाया मिजारले बताइन ।

यातायात ब्यवसायीहरुले भने सुनौली पुगेर तिन सय रुपैयाँ प्रतिलिटरका दरले डिजेल किनेर ल्याउनुपरेकाले तोकीएको भन्दा बढी भाडा लिनुपरेको बताएका छन् ।