ताजा समाचार:
Search

बावियाचौरका ३२ प्रतिशत मात्र योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज
बैशाख १२ गते ।

आर्थिक बर्ष सकिँदै गर्दा स्थानिय तहका योजना तथा कार्यक्रम भने सुस्त गतिमा अगाडी बढेको छ । असार मसान्त भित्रमा सक्नुपर्ने वडाका योजना तथा कार्यक्रमहरु सुस्त गतिमा अगाडी बढेको हो ।

जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरको पनि आर्थिक बर्ष २०७५ /७६का लागि विनियोजित योजनाहरु सुस्त गतिमा अगाडी बढेका छन् ।

आर्थिक बर्ष सकिन तीन महिना बाँकी छदा वडामा जम्मा ३२ प्रतिशत योजनाहरु मात्र सम्पन्न भएको छ । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको २७ वटा योजना मध्ये अहिले सम्म सात वटा योजना मात्र सम्पन्न भएको वडा अध्यक्ष धनबहादुर खाति क्षेत्रीले जानकारी दिनुभयो ।

भौतिक पुर्वाधार,आर्थिक र सुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट १ करोड ३० लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष खाती क्षेत्रिले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित २७ वटा योजना मध्ये ७० प्रतिशत योजनाको सम्झौता गरेकोमा ३२ प्रतिशत योजना मात्र सम्पन्न भएको छ ।

योजना सम्झौता गरी सम्पन्न हुनेमा मोटरबाटो निर्माण एवम् मर्मत, सिंचाई कुलो निर्माण एवम् मर्मत नदि नियन्त्रण ,विद्यालयको क्षेत्रभित्र तार जाली तथा घेराबार निर्माण लगायतका रहेका छन् ।

मोटरबाटो निर्माण, तटबन्धन,ढल निर्माण तथा विद्युतीकरणका योजना सम्झौता हुन बाँकी रहेको उहाँले बताउनुभयो । वडामा विनियोजन भएका योजनाहरु असार मसान्त अगावै सम्पन्न गरी सक्ने लक्ष्य लिएको अध्यक्ष खाती क्षेत्रीले बताउनुभयो । साथै वडाका योजनाहरु स्थानीय उपभोक्ता समिति मार्फत निर्माण गरिएको उहाँको भनाई छ ।