ताजा समाचार:
Search

अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल

विकल्प न्युज/बेनी

बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको जिल्ला बनाउन प्रशस्तै सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले म्याग्दीलाई प्राङ्गारिक उद्योगको जिल्ला बनाउन सकिने बताउँदै स्थानीय तहले बजेट, नीति तथा कार्यक्रमहरु निर्माण गर्दा अर्गानिक उत्पादनसँग सम्बन्धित कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुयभो ।

जिसस प्रमुख केसीले विषादीरहित जिल्ला घोषणा गर्न सम्भव रहेको भन्दै स्थानीयस्तरमा क्रियाशिल अगुवा कृषकहरुमार्फत अर्गानिक जिल्ला बनाउने अभियानतर्फ लाग्नुपर्ने बताउनुभयो । अर्गानिक उत्पादनमा थोरै लगानी गरे पनि उपलब्धिमूलक हुने उहाँको भनाई छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुन, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी र मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले स्थानीय तहलाई अर्गानिक उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउँदै यसका लागि आवश्यक नीति, कार्यक्रम र बजेटमार्फत अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमको काठमाडौंका प्राङ्गारिक प्रशिक्षक पुष्पराज सापकोटा र हाई हिमालयन अर्गानिकका अभियान संयोजक प्रदीप घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, धवलागिरी गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्याल र अगुवा कृषक चन्द्रबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम म्याग्दी विकास मञ्चका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, महासचिव कुविरकुमार श्रेष्ठको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।