संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

ठिनी, वैशाख ४ गते ।  व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।     गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय टोलीले जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसँग छलफलमार्फत सुझावसमेत सङ्कलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

टोलीलाई जिल्लाका सरोकारवालाले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तीव्रता दिन, विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्न, कोरला नाका सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गरिदिन सुझाव दिएका छन् ।
 हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणका लागि आउने भक्तजन तथा पर्यटकहरुको उपचारका लागि चिकित्सकसहितको दरबन्दी भएको स्वास्थ्य संस्था सञ्चालनका लागि पनि माग गरिएको सांसद तुलाचनले बताउनुभयो ।

अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार पारी सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव सङ्कलनका लागि संसदीय टोली मुस्ताङ आएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि मुख्य पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाहरुको भनाइ छ ।  gorkhapatra