पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या ः नेता आचार्य

विकल्प न्यूज\बेनी
बैशाख २ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भीम आचार्यले पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । अहिले जेजति समस्याहरु आएका छन् ति सवैको जरो पार्टी र सरकार विधि अनुसार नचलेका कारण हो उहाँले भन्नुभयो ।

सोमबार बेनीको होटल डल्फीनमा आयोजना गरिएको कार्यकर्ता भेटघाटका क्रममा घुमाउरो तरिकाले पार्टी नेतृत्व र सरकारको आलोचना गर्नुभएका नेता आचार्यले नेतृत्वले विधिलाई टेकेर पार्टी र सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
पार्टीको जिम्मेवारी दिँदा खल्तीबाट नाम निकालेर राख्न खोजिएकाले समस्या आएको बताउँदै नेता आचार्यले भन्नुभयो,‘कार्यकर्ताको अनुहार हेरेर होइन, योग्यता,क्षमता,क्रियाशिलता र लगनशिलतालाई अधार मानेर जिम्मेवारी दिनुपर्दछ ।’ यसो गरिएन भने समस्या आउँछ नेता आचार्यले भन्नुभयो । कार्यकर्ताको भावनामा ठेस नलाग्ने गरी पार्टी एकतालाई छिटो भन्दा छिटो टुंगाउनुपर्ने नेता आचार्यको भनाई थियो । विप्लव समुहमाथि लगाइएको प्रतिबन्ध ठिक भएपनि यसवारेमा पार्टी भित्र गहन रुपमा छलफल नभएकोप्रति नेता आचार्यले अशन्तुष्टी व्यक्त गर्नुभयो ।

कम्यनिष्ट पार्टीको स्थापना दिवस २२ अप्रिल बैशाख ९ गते भित्र पार्टी एकताका सवै कामहरु टुग्गाउने गरी नेताहरु आन्तरिक छलफलमा जुटेको उहाँले बताउनुभयो ।

समयमै पार्टी एकताले पूर्णता नपाउँदा संघ,प्रदेश र स्थानीय सरकारले गति लिन सकेनन् नेता आचार्यले भन्नुभयो,‘स्थानीय सरकारहरु अराजक भए,पार्टी नेता कार्यकर्ताहरु जिम्मेवारी विहिन भए ।’ अव ढिला नगरी पार्टी एकतालाई पूर्णता दिनुको कुनै विकल्प छैन उहाँले भन्नुभयो ।

विगतका सरकारका भन्दा वर्तमान सरकारले पाँचगुणा बढी राम्रो काम गरेको नेता आचार्यले दावी गर्नुभयो । ‘राम्रा कामको प्रचारप्रसार हुननपाउँदा विपक्षीहरुले जनतामा भ्रम सिर्जना गरेका छन् ’ – नेता आचार्यले भन्नुभयो ।
चर्चित हुन र सत्तामा हिस्सा खोज्नका लागि विप्लव समुहले मुलुकमा अराजकता निम्त्याउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

जनता सार्वभौम छन्,निर्वाचित सरकार छ अव कसका लागि हतियार उठाउने ? नेता आचर्याले विप्लव समुहलाई प्रश्न गर्नुभयो ।

जनताको मतद्धारा सत्तामा पुग्नका लागि ढोका खुल्ला छ । ‘तपाईहरु यहि बाटोमा आउनुहोस् हामी स्वागत गर्दछौं’ उहाँले भन्नुभयो । विप्लव समुहलाई नभएर उसका अराजक गतिविधिहरुलाई सरकारले प्रतिबन्ध लगाएको उहाँको भनाई थियो ।
होटल डल्फीनमा भएको कार्यकर्ता भेटघाटका क्रममा पार्टी एकता,सरकार सञ्चालन,विप्लव समुह र सिकेराउतका विषयमा कार्यकर्ताहरुले नेता आचार्य सँग जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला संयन्त्र सदस्य तथा नेता हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।