ताजा समाचार:
Search

किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?

विकल्प न्युज /बेनी

बैशाख २ गते । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ ।

गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ ।

साझेदार निकायबीचको असमझदारी र अविश्वासका तथा ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी उद्योग वाणिज्य संघ र प्रवासी नेपाली म्याग्देली संघ (मोना)सँगको साझोदारीमा बेनपा–२ हाँडेभिर देखि लभ्लीहिल सम्मको उकालोमा बनाउन लागेको पदमार्ग अलपत्र परेको हो ।

उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएपछि साझेदार निकायबीच अविश्वास पैदा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य उपभोक्ता समितिको अध्यक्ष रहनुभएको यो पदमार्ग निर्माणको काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएको भन्दै नगरपालिका र मोनाले असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष कर्माचार्यले भने पदमार्गका मजदुरहरु बेनी बजार संरक्षण आयोजनामा परिचालन भएकाले काम रोकिएको बताउनुभयो । बजार संरक्षण योजनामा छोटो समयमा धेरै काम गर्नुपर्ने तर मजदुर नपाएकाले पदमार्गका मजदुर समेत नदी नियन्त्रण योजनामा परिचालन गरिएको उहाँले बताउनुभयो ।

गत भदौ ८ गते शिलन्यास गरिएपनि बर्खाको प्रतिकुल समय, डिजाईन परिवर्तन र नगरपालिकाबाट कार्यादेश पाउन ढिलाई भएका कारण पुष पहिलो हप्तादेखि मात्र सुरु गरेको काम आधा पनि सकिएको छैन् ।

नगरपालिकाले तीन वटै पक्षले कुल परिणामको कामको भूक्तानी समानुपातिक रुपमा गर्नुपर्ने अडान लिएपछि उद्योग वाणिज्य संघ र मोनाले आर्थिक स्रोत जुटाउन नसक्नु पर्ने पदमार्ग निर्माण रोकिनुको अर्को कारण हो ।

अध्यक्ष कर्माचार्यले भने संघ र मोनाले समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यवस्थापन भइसकेको दावी गर्नुभयो । ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

१.८ मिटर चौडाई भएको दायाँबाया दुवैतर्फ रेलीङ सहितको पदमार्ग निर्माणमा ७६ लाख रुपैया लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र संघले क्रमशः पचास, चालीस र दश प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो ।
मोनाका पदाधीकारीहरुले बेनपा ४ मा रहेको तातोपानी कुण्ड आफूहरुलाई भाडामा दिन गरेको प्रस्ताव असफल भएपछि पदमार्ग निर्माणमा सहयोग गर्न उदाशिन भएकाले आर्थिक संकलन प्रभावित भएको छ ।