ताजा समाचार:
Search

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु

विकल्प न्युज/ ताकम

बैशाख २ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो ।

                                               निर्माणाधिन ताकमकोतको जगन्नाथ–अन्नपूर्ण मन्दिर ।

स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु गरिएको मन्दिर पुननिर्माणलाई पूर्णता दिन सरकारी निकायमा पनि पहल गरिएको छ । ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजना अनुसार पहिलो चरणमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुननिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्रबहादुर थापाले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि स्थानीयबासी र प्रवासीबाट हालसम्म ३० लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएकोमा १५ लाख रुपैयाँ संकलन भइसकेको छ । गत मंसिर २८ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले मन्दिरको शिलन्यास गर्नुभएको थियो ।

पुरातत्व विभागबाट अनुमति लिएर उसले स्विकृत गरेको डिजाइन अनुसार ऐतिहाँसीक महत्वका हात हतियार, मुर्ती, भाडाँकुडाहरु रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर जिर्णोद्धार गर्न लागिएको हो । वि.स १२४६ देखि १५४५ सम्म ताकमकोत बगाले थापाको राज्यको रुपमा थियो । त्यसपछि वि.स १८८२ सम्म त्यहाँ मल्लहरुले शासन गरेको इतिहाँस छ । वि.स १८४३ को असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे, जीव शाहको नेतृत्वमा आएको गोर्खाली फौजले कब्जा गरि थुम ताकमलाई नेपाल राज्यमा मिलाएको थियो ।

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् ।

ताकम कोत म्याग्दीको प्रमुख शक्तिपिठ मानिन्छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ ।

यहाँबाट गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका पुजारी हेमराज पौडेलले बताउनुभयो ।

पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घँुईचो लाग्ने गर्छ । दैनिक पुजाआजा हुने ताकमकोतमा वडादसैको समयमा बिशेष मेला लाग्छ । भाकल पुरा भएमा परेवा उढाउने, नरिवल फुटाउने र बोकाको कोत परिसरमा रहेका ओदान देवतालाइ बली चढाउने चलन छ ।

भाकल पुरा होस भनेर भक्तजनहरुले कोतको आलम थानमा पञ्चबली चढाउने गर्छन् । नौमुरी चामलको भात पकाउन सकिने क्षमताको तामाका ताउला लगायत सामग्रीहरु रहेका स्थानीयबासी बताउँछन् ।