तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

प्रताप बानियाँ \बेनी
म्याग्दी, चैत २९ ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

अभियान अन्तर्गत कार्यालयले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सरसफाइका लागि आवश्यक जग १२ थान, हार्पिक १०, सिन्के कुचो १२, सादा बाल्टी १०, कन्टेनर बाल्टी, ट्वाईलेट ब्रस र ओर्डिनल ६÷६ थान, पोछालगायत विभिन्न १२ प्रकारका ८३ ओटा सामग्रीहरु सहयोग गरेको जनाएको छ ।

उक्त सामग्रीहरु डिभिजन वन कार्यालय प्रमुख हरिशचन्द्र सापकोटा, फरेस्टर लक्ष्मी बानियाँ र वनरक्षक अंकु पुनले कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यलगायत पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।

सामग्री सहयोग हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय प्रमुख सापकोटाले तातोपानी कुण्डलाई स्वच्छ, सफा र सुन्दर बनाउन सरसफाइका सामग्रीहरु हस्तान्तरण गरिएको बताएका छन् ।

उनले फोहोरको एकीकृत व्यवस्थापन गरेर कुण्ड आसपासलगायत ठाउँलाई सरसफाइयुक्त बनाउनुपर्ने बताउँदै कुण्डको सरसफाइमा ध्यान दिनुपर्ने बताए । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले विभिन्न सरकारी कार्यालय, संघसंस्था र व्यक्तिको सहयोगले कुण्डलाई अगाडि बढाउन सहयोग पुगेको बताउँदै कुण्ड र धारामा नुहाउने क्रममा सरसफाई गर्न बिरामीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको अध्यक्षता, सहसचिव कुमार केसीको स्वागत र सदस्य रामप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।