ताजा समाचार:
Search

सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती

विकल्प न्यूज /बेनी
चैत २९ गते । चालू आर्थिक वर्ष २०७५\७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ ।

चालू आर्थिक वर्ष २०७५\७६ मा पूँजिगततर्फ छ करोड ३३ लाख १० हजार रुपैयाँ बजेट बिनियोजन भएको सो कार्यालयले दोस्रो चौमासिक (आठ महिनाको) अवधिमा एक करोड तीस लाख ९९ हजार १३७ रुपैयाँ मात्र खर्च गरेको छ । कार्यालयले सञ्चालन गर्ने नदी नियन्त्रण र सिचाईका अधिकांश आयोजनाहरु अझै ठेक्का र उपभोक्तासँग सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन् ।

प्रदेश अन्तरगत नयाँ स्थापना भएको कार्यालय, कार्यक्रम र अख्तीयारी दोस्रो चौमासिकको अन्तिममा आएको, दरबन्दि अनुसारका जनशक्तिको अभाव, कर्मचारी समायोजन प्रक्रिया लगायतका कारणले ढिलाई भएको डिभिजन प्रमुख यामनारायण श्रेष्ठले बताउनुभयो ।

‘तीन वटा सिचाई आयोजना ठेक्का प्रक्रियामा लैजादै छौ,’ डिभिजन प्रमुख श्रेष्ठले भन्नुभयो ‘बहुबर्षे ठेक्का मार्फत योजना कार्यान्वयन हुने भएकाले यो वर्ष बिनियोजन भएको बजेट खर्च गर्न सक्छौ ।’ कार्यालयमा एक जना डिभिजनल इञ्जिनियर, तीन जना इञ्जिनियर र ३ जना सब इञ्जिनियरको दरबन्दि छ । हाल डिभिजनल इञ्जिनियर, एक जना इञ्जिनियर र एक जना सब इञ्जिनियर मात्र कार्यरत छन् ।

पन्ध्र लाख रुपैयाँ बिनियोजन भएको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा कालीगण्डकी नदी नियन्त्रण योजना सम्पन्न भइसकेको छ । २५ लाख बिनियोजित बेनी बजार संरक्षण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ । २० लाख बिनियोजन भएको मालिका गाउँपालिकाको रितुङखोला, बीस लाख बिनियोजन भएको अन्नपूर्ण गाउँपालिकाको घट्टेखोला, तीस लाख बिनियोजित गलेश्वरधाम संरक्षण योजनाको सम्झौता भएको छ ।

तीस लाख बिनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ–खोरिया पहिरो नियन्त्रण र तीस लाखनै बजेट भएको पात्लेखेत पहिरो नियन्त्रणको काम सम्बन्धित उपभोक्ता तथा सरोकारवाला सम्र्पकमा नआएकाले सम्झौता हुन सकेको छैन् । संघीय सरकारको अनुदानमा दश लाख बिनियोजित आपतकालिन तथा बाढी पहिरो पुनस्थापना कार्य र पैतीस लाख बिनियोजित म्याग्दी नदी नियन्त्रण योजना कार्यान्वयनको चरणमा छ ।

डिभिजन मार्फत सञ्चालन हुने विभिन्न सात वटा सिचाई आयोजना र नयाँ आयोजनाको सर्वेक्षणका लागि चालू आर्थिक वर्षमा तीन करोड एक लाख रुपैयाँ बिनियोजन भएको छ ।

पचास लाख बिनियोजित बेनपा ५ को गोणेला डिही चालिसे, साठी लाख बिनियोजित अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीको जारखोला सिचाई आयोजना र चालीस लाख बिनियोजन भएको बेनी नगरपालिकाको बालमखोला सिचाई आयोजनाको ठेक्का प्रक्रियाको तयारी भएको छ ।

चालीस लाख बिनियोजन भएको मंगला गाउँपालिका १ को रातोखोला भर्जुला, चालीस लाख बिनियोजित राखु पिप्ले लिफ्ट, चालीस लाख बिनियोजित भाईवाङ र तीस लाख बिनियोजीत रुइसे लिफ्ट सिचाई आयोजना रघुगंगा २ भगवतीको सिचाई आयोजना सर्वेक्षणको तयारीमा छन् ।

कार्यालयद्धारा सञ्चालन हुने ९ वटा मझौला सिचाई आयोजनाका लागि आठ लाख ४६ हजारका दरले सात करोड ६१ लाख चार हजार र चार वटा नयाँ प्रबिधिमा आधारित सिचाई आयोजनाका लागि तीन लाख ५१ हजार रुपैयाँका दरले १४ लाख चार लाख बजेट प्राप्त भएको छ ।