श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)

विकल्प न्यूज/मुना
चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो ।

धौलागिरि गाउँपालिका ३ मुना स्थित धबलागिरि आधारभुत विद्यालयको भवन मर्मत योजनामा श्रमदान गर्न भन्दै ७ बजे उपस्थितिका लागि कटुवालले गाउँभरी घोक हाल्यो । तर गाउँलेहरु आधा घण्टा अगावै औजार लिएर विद्यालयमा भेला भए ।
विद्यालयका १० कक्षा कोठाको भित्र र वाहिर प्लास्टर गरी पक्की बनाउन वडाको सिफारिसमा गाउँपालिकाले चालु आर्थिक वर्षमा चार लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । कक्षा कोठा मर्मत योजनामा गाउँलेहरुले १० प्रतिशत श्रमदान गर्नुपर्ने वडा अध्यक्ष पुर्म पुनले बताउनुभयो । ‘अन्यत्रका विकास योजनाहरुमा मुश्किलले श्रमदान जुट्ने गर्दछ । तर यहाँ श्रमदान गर्न भनेपछि गाउँलेहरु उत्साहित हुन्छन् ’– वडा अध्यक्ष पुनले भन्नुभयो । मुनामा विकास योजनाहरु सम्पन्न गर्न सजिलो छ । श्रमदान जुटाउन कुनै समस्या छैन उहाँले भन्नुभयो ।