मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन

विकल्प न्यूज/बेनी
चैत २२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मालिका गाउँपालिका कमिटीको अध्यक्षमा पूर्व एमालेका तर्फबाट बेगप्रसाद गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व माओवादी केन्द्रका गोबिन सिउन्थानी चयन हुनुभएको छ ।

शुक्रवार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली र पूर्व सांसद तथा नेता नवराज शर्माको आथित्यतामा भएको भेलाले गर्बुजाको नेतृत्वमा २५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको हो ।
यसै गरी भेलाले ७ वटै वडामा वडा कमिटी गठन गरेको छ ।

गाउँपालिका कमिटी सदस्य र वडा सदस्यहरु पूर्व एमालेको तर्फबाट ६० प्रतिशत र माओवादी केन्द्रका तर्फबाट ४० प्रतिशत रहने गरी गठन गरिएको मालिका गाउँपालिका उपाध्यक्ष तथा पूर्व एमाले जिल्ला कमिटी सदस्य खरमाया विटालुले जानकारी दिनुभयो ।
एक नम्बर वडामा बुद्धि पुनको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ । सचिवमा रमेश पुन चयन हुनुभएको छ । यसै गरी २ नम्बरमा खमबहादुर पुन अध्यक्ष र शिव दर्जी सचिव रहेको १९ सदस्यीय वडा कमिटी चयन भएको छ ।
वडा नम्बर ३ मा अध्यक्ष सरस्वती पुन,सचिव मनबहादुर पुनलाई भेलाले सर्वसम्मत रुपमा चयन गरेको छ । यहाँ ९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

४ नम्बर वडाको अध्यक्षमा रेशम पुन र गोपाल कँडेल सचिव रहेको १७ सदस्यीय कमिटी गठन गरेको छ ।
त्यस्तै पाँच नम्बर वडामा कुलबहादुर घर्ती अध्यक्ष र रविन्द्र रोका सचिव रहेको १९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
६ मा अनुप गौचन अध्यक्ष र ओमकार रोका सचिवमा चयन हुनुभएको छ । यहाँ १९ सदस्यीय कमिटी चयन भएको छ ।
यसै गरी ७ मा बुद्धी बहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिव रहेको ११ सदस्यीय कमिटी चयन भएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएको लामो समय वितिसक्दा पनि स्थानीय तहमा पार्टी एकताले पूर्णता पाउन नसकिरहेको अवस्थामा पछिल्लो समय स्थानीय तहको एकतालाई चाँढो टुंगाउन नेकपा जुटेको हो । भेलालाई सम्बोधन गर्दै पूर्व सांसद तथा नेकपाका नेता शर्माले चयन भएका अध्यक्ष लगातय सदस्यहरुलाई पार्टी संगठनलाई गतिशिल बनाउन जुट्न निर्देशन दिनुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधिहरु सँग मिलेर विकास निर्माणलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

जिल्ला संयन्त्र सदस्य जुग्जालीको अध्यक्षता,विटालुको स्वागत र गर्बुजाको संचालनमा भेला सम्पन्न भएको थियो ।