पत्रकार बानियाँ सम्मानित

विकल्प न्युज
म्याग्दी, चैत २२ । म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँ बिहीबार लायन्स क्लब अफ बेनी महारानीद्वारा सम्मानित भएका छन् । लायन्स क्लब अफ बेनी महारानीको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट जिल्लाको विकास, समाजसेवा तथा लायन्स क्लबको अभियानमा पु¥याएको योगदानको उच्च मूल्याङ्कनसहित पत्रकार बानियाँलाई सम्मान गरिएको लायन्स क्लब अफ बेनी महारानीले जनाएको छ ।

उनलाई लायन्स क्लबका सिनियर एमजेएफ लायन सन्तोष रावल, रिजन जोन चियरपर्सन दिपेन्द्र श्रेष्ठ र बेनी महारानीका अध्यक्ष हिरादेवी उपाध्यायले खादा लगाई प्रमाणपत्र तथा नगद एकहजार पाँचसय रुपैयाँसहित सम्मान गरेका थिए ।
क्लबका अध्यक्ष उपाध्यायले आफ्नो कार्यकालमा पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा खेलेको भूमिकाको सम्मानस्वरुप पत्रकारलाई सम्मान गरिएको बताएकी छिन् ।

बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटी स्थायी घर भएका पत्रकार बानियाँ बेनीमा बसेर झण्डै एक दशकदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य समेत रहेका उनी सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्कको म्याग्दी जिल्ला संवाददाताको रुपमा कार्यरत छन् ।
सदरमुकाम बेनीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाको सहसम्पादक रहेका बानियाँको नेपाल समाचारपत्र, धौलागिरी टेलिभिजन, धौलागिरी एफएम, बेनीअनलाइनलगायत सञ्चारमाध्यममा पनि संलग्नता रहेको छ । जिल्लाको सामाजिक संघसंस्था ओमकुमारी शान्ति कोष, रेडक्रससहितका संस्थामा पनि उनी आबद्ध छन् ।