उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी
चैत २० गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउनुपर्ने बताउनुभएको छ । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्नभयो ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गरिबी न्यूनीकरणका लागि सहकारीले कृषि र पशुपालनका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाई थियो ।
वित्तिय पहुँच भन्दा बाहिर भएका ग्रामिण भेगका सर्वसाधरणहरुलाई सहकारीको पहुँचमा ल्याई उनीहरुको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु सहकारीले बनाउनुपर्ने मन्त्री थापाले सुझाव दिनुभयो । स्थानीय स्रोत साधनको पहिचान र परिचालन गरेर उद्योग तथा व्यवसायको विकासका लागि सहकारी संस्थाहरुले पूँजी परिचालन गर्न मन्त्री थापाले सुझाव दिनुभयो । उहाँले सहकारीमा जम्मा भएको पुँजीलाई रोजगारी सिर्जना गर्ने उद्योग व्यवसायमा लगानी गर्न सकेमा बेरोजगार कम गर्न सकिने धाराणा व्यक्त गर्नुभयो ।

म्याग्दीमा पर्यटन, कृषि, जडिवुटी खेती, पशुपालन, अल्लो प्रशोधन, नेपाली कागज उत्पादन जस्ता आयमुलक उद्योग व्यवसायमा सहकारीले सामुहिक लगानी गर्न मन्त्री थापाले अनुरोध गर्नुभयो ।

पिछडिएका र विपन्न महिलाहरुको आर्थिक स्रोतमा पहुँच बढाउनका लागि मन्त्रालयले यस वर्षदेखि म्याग्दी लगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । म्याग्दीमा कार्यक्रम सञ्चालन गर्न तीन वटा गैरसरकारी संस्था छनौट गरिएको मन्त्री थापाले बताउनुभयो ।  गण्डकी प्रदेशका सांसद बिनोद केसीले कुल लगानीको तीस प्रतिशत अनीवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र दोहोरिएर सदस्य बन्न नपाइने प्रदेशको सहकारी नीति कडाइका लागि कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा जिल्ला संयन्त्र सदस्य टेकबहादुर बिक, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत मन्तब्य र सचिव ज्योती लामीछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।