म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?

विकल्प न्यूज/बेनी
चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ ।

स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ ।

कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका मुख्य समस्या भएको देखाइएको छ । स्थानीय तहले माघ १६ गते जिल्लासभामा प्रस्तुत गरेको प्रगति विवरणमा कर्मचारी व्यस्थापन,नीति नियम,पूर्वाधारको अभाव,कर्मचारीमा दक्षतामा कमी,भौगोलिक विकटता र टुक्रे योजनाका कारण योजना कार्यान्वयनमा समस्या आएको उल्लेख गरेका छन् ।

पहिलो चौमासिक सम्म न्यून बजेट खर्च गरेका स्थानीय तहरुले दोस्रो चौमासिक सम्म आइपुग्दा खर्चको अनुपात बढेको छ । ‘विकास बजेट खर्चको अवस्थालाई हेर्दा निराशाजनक अवस्था भन्न मिल्दैन’ रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नुभयो । दास्रो चौमासिक सम्म ४३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको रघुगंगाले यसलाई उत्साहजनक मान्छ ।

असारे विकासलाई निरुत्साहित गरेका छौं प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नुभयो ‘बैशाखको अन्तिमसम्म पुँजीगत बजेट खर्च गरीसक्ने लक्ष्य छ ।’ जिल्लाका स्थानीय तहहरुमा सवै भन्दा बढी विकास बजेट खर्च गर्ने गाउँपालिका रघुगंगा भएको छ ।

यसै गरी मालिका गाउँपालिकाको विकास बजेट खर्च न्यून देखिएको छ । तर मालिकाकाले पेश्कीलाई निरुत्साहित गर्दै योजना सम्पन्न भएपछि मात्र सवै रकम भुक्तानी हुने भएकाले बजेट खर्च कम देखिएको लेखापाल विष्णुप्रसाद शर्माले बताउनुभयो ।

उपभोक्ता समिति गठन गरी योजनाहरु कार्यान्वयनको चरणमा पुगेका छन् उहाँले भन्नुभयो ‘बैशाखको अन्तिम सम्म खर्चको प्रतिशत धेरै नै बढ्छ ।’

यता जिल्लाकै विकट धौलागिरि गाउँपालिकाले फागुन मसान्त सम्म २० प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । हिमपात र भौगोलिक रुपमा विकट भएकाले योजनाहरु सञ्चालन गर्न कठिनाई भएकाले पुँजीगत बजेट खर्च कम देखिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

असारे विकासलाई निरुत्साहित गरेको धौलागिरिले जेठ मसान्त सम्म करिब एकसय प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य लिएको छ । दक्ष जनशक्ति र भौगोलीक रुपमा विकट भएकाले योजनाहरु सञ्चालन गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।  मंगला गाउँपालिकाले दोस्रो चौमासिक सम्म करिब ३५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । दक्ष जनशक्तिको अभावका कारण पुँजीगत बजेट खर्च गर्न समस्या आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

गाउँपालिकामा स्विकृत दरवन्दी अभाव हुनु मुख्य समस्याका रुपमा रहेको उहाँको भनाई छ । बेनी नगरपालिकाले पनि समग्र रुपमा विकास बजेटलाई पहिलो चौमासिकमा भन्दा दोस्रो चौमासिकमा बढाएको छ । बेनपाले दोस्रो चौमासिक सम्म आइपुग्दा चालु र पुँजीगत गरी करिब ४५ प्रतिशत बजेट खर्च गरेको छ ।

जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकाले भने दोस्रो चौमासिक सम्म आइपुग्दा ३५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । कार्यक्रम बनाउने दक्ष कर्मचारीको अभाव पुँजीगत बजेट खर्चमा कमी हुनुका कारणहरु भएको लेखापाल इन्द्रबहादुर केसीले बताउनुभयो ।

आर्थिक वर्षको अन्त्य सम्म चालु र पुँजीगत गरी २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँ रहेको बजेटको ८५ प्रतिशत भन्दा वढी खर्च हुने अपेक्षा छ उहाँले भन्नुभयो । स्थानीय तहमा विकास बजेट खर्च गर्न सक्ने क्षमता वृद्धिका लागि दक्ष जनशक्तिको व्यवस्थापन र विकास योजनाहरुमा जनशहभागिता बढाउन जनप्रतिनिधि,राजनीतिक दल र सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।