राहुघाट आयोजनाको विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर

विकल्प न्यूज/बेनी
चैत १८ गते । म्याग्दीमा रघुगंगा गाउँपालिकामा  निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण विच विद्युत खरिद विक्री (पिपिए) सम्झौता भएको छ । काठमाण्डौमा सोमबार प्राधिकरण विच विद्युत खरिद विक्री सम्झौता पत्रमा हस्ताक्षर भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देश गोपाल पाठकले जानकारी दिनुभयो ।

प्राधिकरणले आयोजनाको प्रवद्र्धक रघुगंगा हाइड्रो पावर लिमिटेड सँग पिपिए गरेको हो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले विच विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर भएको बेनीमा पत्रकारहरु सँग कुरा गर्दै सहायक निर्देशक पाठकले जानकारी दिनुभयो । विद्युत खरिद विक्रीमा हस्ताक्षर भएसँगै अव आयोजनाको निर्माणले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पिपिए अनुसार आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणले सुख्खा यामको पिकिङ आवर (अत्याधिक ऊर्जा खपत हुने समय) मा प्रतियुनिट १०.५५ रुपैयाँ, अन्य समयमा नदी प्रवाह आयोजना सरह ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्नेछ । नेपाल विद्युत प्राधिकरणको सतप्रतिशत लगानीमा निर्माण हुन लागेको आयोजना अर्धजलासय युक्त हुने छ । आयोजना अघि बढाउन २०७३ सालमा कम्पनी स्थापना भएको थियो । २०७४ जेठबाट ठेकेदार कम्पनी कार्यस्थलमा परिचालन भएको उहाँले जानकारी दिनुभयो । निर्माण सुरु भएको आयोजना १२ प्रतिशत भौतिक प्रगती भएको सहायक निर्देशक पाठकले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको दग्नाम गाउँको पुछारमा रहेको लहरेनीमा आयोाजनाको ड्याम निर्माण गरी राहुघाट खोलाको पानीलाई ६ दशमलब २७० किलोमिटर सुरुङ मार्फत गलेश्वर पारी तिल्केनीमा निर्माण हुने विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिने छ ।  यतिखेर आयोजनाको सबै संरचना निर्माणको काम भइरहेको छ ।

भारतको जयप्रकाश एसोसियट्स कम्पनीले आयोजनाको सिभिल संरचना निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गर्न ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । भारतीय एक्जिम बैंकले आयोजनामा ६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको छ ।

आयोजनाबाट सन २०२३ जनवरी ३१ गते देखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएपछि वर्षिक २४ करोड पाँचलाख ९३ हजार युनिट विद्युत उत्पादन हुनेछ ।

कुल ऊर्जाको ३४ प्रतिशत सुख्खा याममा र बर्खा याममा ६६ प्रतिशत उत्पादन हुने कम्पनीले जनाएको छ ।
उत्पादन हुने विद्युत २२० केभी कालीगण्डकी कोरिडोरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजना ३२ मेगावाट क्षमताबाट बढाएर ४० मेगावाट निर्माण सुरु गरिएको हो । प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर आयोजनाको निर्माण अघि बढाएको हो ।