जिसस म्याग्दीको विशेष जिल्लासभा बेनीमा सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी
फागुन १५ गते । जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्ला सभा बेनीमा सुरु भएको छ । सभाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको हो ।

जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनता सँग नजिकमा रहेको स्थानीय सरकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार सफल भएमा मात्र संघियता बलियो हुने भएकाले जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्ने उहाँको भनाई थियो ।स्थानीय सरकारको काम कारबाहीको अनुगमन,मुल्याङकन गर्ने काम जिल्ला समन्य समितिको भएकाले प्रभावकारी रुपमा आफ्नो दायित्वलाई व्यवहारमा लागू गर्न उहाँले आग्रह गर्नुभयो । जिससको अधिकारलाई बढाउने कुरा सवैतिरबाट उठेकाले यसवारेमा छलफल भएको उहाँको भनाई छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी,पूर्व सभासद गोविन्द पौडेल,नवराज शर्मा,नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल,नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सभा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिसस प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिसस सदस्य शेरवहादुर केसी र सञ्चालन अधिकृत गोविन्द सुनारले गर्नुभएको थियो । सभामा स्थानीय तहको आर्थिक वर्ष २०७४\०७५ को वर्षीक समिक्षा र चालु आवको पहिलो चौमासिक प्रगतिको समिक्षा गरिने छ । सभामा स्थानीय तहका प्रमुख,उपप्रमुख जिसस सदस्य,स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु र जिल्ला स्थीत कार्यालय प्रमुखहरुको सहभागिता रहेको छ । बन्द सत्रले विशेष प्रस्ताव पास गर्ने जनाइएको छ ।