ताजा समाचार:
Search

धौलागिरीमा वडामा पुगेर योजना सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको ५ मल्कवाङ र ६ मराङमा चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका पूर्वाधार योजनाको वडामै सम्झौता भएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा पर्ने मराङ र मल्कवाङमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेका हुन् ।

योजना सम्झौतासँगै जेष्ठ नागरिक परिचयपत्र वितरण र अपाङ्गता परिचयपत्र उपलब्ध गराउनका लागि आवश्यक कागजात संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

फागुन ५ र ६ गते मराङमा सञ्चालित घुम्ति शिविरमा १४ वटा योजनाका उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । ११४ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण र ४ जनालाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउन कागजात संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

यसैगरी फागुन ७ र ८ गते मल्कवाङमा पुगेर ९ वटा योजनाका उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो । १०४ जनालाई जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

प्रभु बैङ्कको धवलागिरी शाखा, गाउँपालिकाको लेखा, प्राबिधिक शाखाका कर्मचारीहरुको टोलीले सेवा दिएको थियो । उपभोक्ता समितिको गाउँमै खाता खोलिएको थियो ।

मराङ र मल्कवाङमै पुगेर योजना सम्झौता गरिएपछि त्यहाँका उपभोक्ता समितिका पदाधिकारीहरुलाई मुना स्थित कार्यालय धाउनुपर्ने झञ्जट र समस्याबाट मुक्ति पाएका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

उनिहरुलाई मुना जान, आउन र कार्यालयको काम गर्न कम्तीमा तीन दिन समय लाग्ने गर्दथ्यो । कतिपय अवस्थामा कागजात नमिलेको र पुरा नभएमा फर्कनुपर्ने हुन्थ्यो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट बिनियोजन गरेका १२० वटा पूर्वाधार योजना मध्य हालसम्म करिब ७० वटाको सम्झौता गरेर कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।