ताजा समाचार:
Search

मुस्ताङको ‘ढुम्बा’ ताल जमेर बरफ भएपछि…

विकल्प न्युज /मुस्ताङ

माघ २४ गते । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय हिउँ परेर अत्याधिक चिसो बढेपछि तालको पानि समेत जमेर बरफ बनेको छ ।

पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल बरफमा परिणत भएको हो ।

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटकहरू ढुम्बा ताल अवलोकन गर्न पुग्ने गरेका छन् ।

पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो । केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।

जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ ।

निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल नै यतिबेला जमेको हो । जमेको तालमा युवाहरू तस्बिर खिचाउन जान थालेका छन् ।

तस्बिर सौजन्य :साेम  थकाली