संस्कृति संरक्षणमा जुट्दै दानाबासी

विकल्प न्यूज/बेनी
माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई जोगाउन गुरुङ चारवर्ष देखि जुट्नुभएको छ ।

पुरानो कला संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि दानाका जनजाति समुदायले समिति गठन गरेका छन् । ६४ वर्षीय पाइजा दाना पुख्र्यौली समुहको अध्यक्ष समेत हुनुहुन्छ । पुख्र्यौली नृत्यले गाउँमा आउने पाहुँनाहरुलाई स्वागत गर्ने प्रचलन छ ।  पुख्र्यौलीमा पुरुषलाई महिलाको भेषमा सिंगारेर मारुनी बनाइन्छ । मारुनीहरु परम्परागत पोषाकमा सजिन्छन् । भने मादलेहरुले पनि जनजाति समुदायको परम्परागत पोषाक लगाउँछन् । मारुनीले गीत छोप्दै नाच्ने प्रचलन छ । पुख्र्यौली नृत्यमा सहभागि अन्य महिला वा पुरुष कलाकारहरुले पनि गीति गाउँदै रमाइलो गर्दछन् । एउटा नृत्य सक्न करिब १५ देखि २० मिनेट सम्म लाग्छ । सवै जना गोलोफेरो बनाएर नाच्ने गर्दछन् । मादलेहरुले मादल बजाउँदै नृत्य गर्दछन् । 

दानामा नयाँ र पुरानो पुस्ता मिलेर पुख्र्यौली नृत्यको संरक्षण गर्न थालिएको छ । कला संस्कृति भनेको जनजातिको पहिचान हो दानाका १६ वर्षीय युवा सन्तोष पुनले भन्नुभयो “कला संस्कृतिको संरक्षण गर्दै पहिचान जोगाउन युवा पुस्ताले चासो दिनुपर्दछ ।” पुरानो कला संस्कृति हाम्रो सम्पत्ति पनि हुन त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक भएको उहाँले बताउनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न समय समयमा तालिम हुने गरेको पुनले बताउनुभयो ।

पहिलो पटक मारुनीको भेषमा सजिएर पुख्र्यौलीमा नृत्य गर्न पाउँदा खुसी छु १६ वर्षीय युवा पुनले भन्नुभयो, “कला संस्कृति संरक्षण गर्न नयाँ पुस्ताले सिक्न जरुरी छ ।” दानामा पुरुषहरुका साथै महिलाहरु पनि कलासंस्कृति संरक्षणमा जुटेका छन् । दानावासीले पुख्र्यौली नृत्यको विकास र संरक्षणका लागि कोष नै खडा गरेका छन् । कोषको रकम पोषाक खरिद गर्न खर्चिने गरेको दाना पुख्र्यौली संरक्षण समुहका अध्यक्ष पाइजाले बताउनुभयो । 

स्थानीय तहले पनि सहयोग गरे संस्कृति संरक्षणमा टेवा मिल्ने थियो उहाँले भन्नुभयो । नयाँ पुस्ताका युवाहरुलाई कला संस्कृतिका वारेमा जानकारी दिन र सीप सिकाउन जरुरी भएको उहाँको भनाई छ । पछिल्लो समय युवा पुस्ताले पनि संस्कृति जोगाउन चासो दिने गरेका छन् उहाँले भन्नुभयो । ठाकुरप्रसाद आचार्य