मुुसुङमा पर्यटन मेला सुरु

विकल्प न्यूज/बेनी
पुस २९ गते । कला र संस्कृतिको संरक्षणसँगै ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको मुसुङमा आइतबार देखि माघे संक्रान्ति पर्वको अवसरमा पर्यटन मेला सुरु भएको छ ।

मुसुङको स्वर्गाश्रम युवा क्लब आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेलाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । जिसस प्रमुख केसीले विकास र आयआर्जनमा सुधार ल्याई जनताको जिवनस्तर सुधारका लागि पर्यटनको राम्रो सम्भावना भएको बताउनुभयो ।

पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, प्रचारप्रसार, व्यवस्थापनका लागि समुदाय, स्थानीय तह, प्रदेश र संघीय सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै केसीले संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायले लाभ लिने वातावरण बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विकास गतिबिधिमा जनसहभागिताका हिसाबले भकिम्लीबासीले नमुना प्रस्तुत गरेको बताउँदै यहाँका पर्यटकीय तथा धार्मिक स्थलहरुको विकासका लागि प्राथमिकता दिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले परम्परागत मेलापर्वको नराम्रो पक्षलाई त्यागेर कला र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले पूर्वाधार निर्माणसँगै समुदायको आयआर्जन वृद्धी हुने नीति लिएको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुदको विकासका लागि व्यवस्थित खेलमैदान र प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो । उद्घाटन कार्यक्रमको अवसरमा बेनपा ३ का वडा अध्यक्ष पदम पुनले धनु लेकालीले तयार पार्नुभएको भकिम्लीको विकासको सम्भावना विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

वडा अध्यक्ष पुनले सुन्तला गाउँ राखु, मगर बस्ती भकिम्ली, डोले, मुसुङ हुदै धार्मिक र हिमशृङखला तथा दृष्यअवलोकनका लागि सम्भावना बोकेको स्वर्गाश्रम र बेलढुङ्गाको पर्यटन विकासमा सरोकारवालाको साथ आवश्यक रहेको बताउनुभयो ।  

बेनी मुसुङ्ग हुदै स्वर्गाश्रमलाई सडक र बेलढुङ्गालाई पदमार्गले जोड्ने योजना रहेको बताउनुभयो । मेला आयोजक समितिका अध्यक्ष तारामिलन छन्त्यालले भकिम्लीको प्रचारप्रसार गरि पर्यटन विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

स्वर्गाश्रम युवा कल्वका अध्यक्ष भिमप्रसाद पुनको अध्यक्षता र शिक्षक भोज जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगर कार्यपालिकाको आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर बानियाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।  मेला उद्घाटन कार्यक्रमको अवसरमा भकिम्लीका अगुवा कृषकहरु धनबहादुर श्रीस र श्यामबहादुर पुन सहित म्याग्दीका तीन जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुने पत्रकारहरुमा सन्तोष गौतम, कमल खत्री र हरिकृष्ण गौतम रहनुभएको छ ।