ताजा समाचार:
Search

मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग

साधन राम्जाली /विकल्प न्यूज
पुस १० गते । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ ।

शान्तिकोषको कार्यालय बेनीमा मंगलवार आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रम मार्फत मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई तीनलाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।
शान्ति कोषले स्थापना गर्न लागेको अक्षयकोषलाई वृद्धि गर्न सहयोग गरेवापत मोना नेदरल्याण्डलाई कोषको संरक्षक सदस्यता प्रदान गरिएको छ ।

कार्यक्रममा मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाले परोपकारी अभियानलाई प्रवासीहरुको साथ र सहयोग रहने बताउनुभयो । आर्थिक समस्यामा परेका विरामीहरुलाई बचाउन कोषले स्थापना गर्न लागेको अक्षयकोष नमुना र उदाहरणीय अभियान भएको उहाँको भनाई थियो ।

कार्यक्रममा मोना नेदरल्याण्डका अध्यक्ष पुनले शान्ति कोषसंग सहकार्य गरि जन्मभुमीको सामाजिक क्षेत्रमा काम गर्न पाउँदा नेडरल्याण्डमा कार्यरत म्याग्दी वासीहरुले गर्व महसुष गरेको बताउनुभयो । कार्यक्रममा कोषका अध्यक्ष शाक्यले सहयोदाता मोना नेदरल्याण्डलाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । उहाँले शान्ती कोषले स्थापना गर्न लागेको अक्षय कोषबाट स्वास्थ्य उपचारबाट बञ्चित गरिब र विपन्न लाई सहयोग गर्न अक्षयकोष स्थापना गर्न लागिएको बताउनुभयो ।

कोषका अध्यक्ष शाक्यको अध्यक्षता माना आइईसी अध्यक्ष थापाको प्रमुख आतिथ्यतामा एवम् कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मोना नेदरल्याण्डका उपाध्यक्ष सोमबहादुर भण्डारी म्याग्दी उद्धार बहराइनका अध्यक्ष लोक राम्जाली मगर बरिष्ठ सल्लाहकार छविलाल विकको शहभागिता रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई कोषले स्वागत तथा सम्मान गरेको थियो ।