ताजा समाचार:
Search

सानै उमेरमा नृत्यमा सफल श्रद्धा

विकल्प न्यूज \ बेनी
मंसिर ५ गते । DSC_0110बागलुङमा हुने हरेक कार्यक्रममा आजभोलि एक जना बालिकाको खोजी हुन्छ। चाहे कुनै उत्सव तथा समारोह हुन वा कुनै सांस्कृतिक कार्यक्रम नै किन नहुन्। उमेर जम्मा सात वर्ष पुगेकी बालिकाको नृत्य कला देखेर सबै लालयित हुने गरेका छन्। उनको नृत्यले बालबालिकादेखि बुढाबुढी सम्मको मन तान्ने गरेको छ। बागलुङ नगरपालिका-६ सिम ओखरबोटमा जन्मिएकी श्रद्धा क्षेत्रीको अहिलेको पहिलो परिचय नृत्यङ्गनाको रूपमा छ।

उमेरले सानी भए पनि उनको चर्चा भने उनको उमेरभन्दा निकै माथि छ। सार्वजनिक रूपमा आयोजना हुने कार्यक्रमहरूमा नृत्यको प्रस्तुतिबाट नै उनले अहिलेको चर्चा बटुलेकी हुन्। विद्यालयका शिक्षकको सहयोग र घरपरिवारको सहयोगको अलावा आफ्नो निरन्तरको मिहिनेतले श्रद्धाले उचाइ चुमेकी छन्। सात वर्षकै उमेरमा उनले बागलुङमा मात्र होइन म्याग्दी र पर्वतमा समेत आफ्नो नृत्यको छाप छोडिसकेकी छिन्। सानो उमेरमै नृत्यमा सफलता हासिल गरेपछि अहिले मेला महोत्सव र कार्यक्रममा उनको माग बढ्दै गएको छ।
एक पटकको लागि नृत्य देखाउन पुगेको ठाउँबाट प्राय श्रद्धाले खाली हात फर्किनु पर्दैन किनभने अर्को पटकको लागि निम्तो तयार भएको हुन्छ। उनको नृत्य देख्नेहरूले उनलाई अर्को पटकको लागि निम्तो दिने गरेका छन्। स्टेजमा श्रद्धाको प्रस्तुति देखेपछि दर्शक दिर्घाबाट पड्किने तालीले उनलाई थप सफलतातर्फ हौसाएको छ। खुला चौरमा हुने मेला महोत्सवमा त उनको अपरिहार्यता छँदै छ बन्द कोठाहरूमा हुने कार्यक्रमहरूमा समेत श्रद्धाको खोजी हुन्छ। कार्यक्रममा सहभागीहरुलाई अड्याई राख्नको लागि पनि श्रद्धाको खोजी हुने गरेको छ। आयोजकले कार्यक्रम तालिका तयार गर्दा उनको प्रस्तुतिलाई तालिकामा अनिवार्य गर्न थालेका छन्।
यहाँको गुराँस विद्या सदनमा कक्षा २ मा अध्ययन गर्ने श्रद्धाले तीन वर्षको उमेरबाटै नृत्य थालेकी हुन्। भर्खर आफ्नै खुट्टाले उभिएर हिँड्ने हुँनासाथ एफ एम रेडियोमा गीत सुनेर छोरी नाँचेको देखेपछि उनकी आमा शोभा क्षेत्रीले उनलाई नृत्य सिकाउनका लागि डान्स कक्षा भर्ना गरेको बताइन्। ‘मैले रेडियो सुन्ने गर्थें, रेडियोमा गीत सुनेर छोरी नाचेको देखेपछि डान्समा उसको राम्रो प्रगति हुनसक्छ भन्ने लागेर केही समय सिकाउनका लागि डान्स कक्षा पनि भर्ना गरिदिएँ,’ क्षेत्रीले भनिन् ‘केही महिना सिकेपछि आधारभूत कुराहरु पूरा भयो भन्ने लाग्यो कक्षा छुटाइदिएँ।’ उनको नृत्यप्रतिको समर्पण झन् बढेर गयो। पहिले पहिले आफ्नो कला देखाउनको लागि मात्रै स्टेजमा पुग्ने श्रद्धाको नृत्य अहिले भने व्यावसायिक हुन थालेको छ।
बागलुङमा आयोजना हुने कैयौँ कार्यक्रममा उनलाई पारिश्रमिक दिएरै बोलाउने गरिएको छ। बिना पारिश्रमीक कार्यक्रममा पुगिन् भने पनि उनको रित्तो हात हुँदैन। उनको नृत्य देखेर सहयोगका हात फैलाउँछन् र उनले इनाम र बक्सिस पाउँछिन्। ‘नानुको नाँचलाई मन पारेर दिएको पैसा उनको नाममा बाल बचतको खाता खोलेर जम्मा गरिदिएको छु’ आमा शोभाले भनिन् ‘६०/७० हजार जति रकम जम्मा भयो होला।’ कैँयौ ठाउँमा नृत्य प्रस्तुत गर्दा गर्दै लाहुरेहरूले पैसा छर्ने गरेको अनुभवसमेत श्रद्धाले सुनाइन्। साढे दुई वर्ष अघि रोट्रयाक्ट क्लब अफ बागलुङको पदस्थापन कार्यक्रममा नृत्य प्रस्तुत गरेपछि श्रद्धाको नृत्यकलाले सबैलाई लोभ्याएको थियो। सोही कार्यक्रममा उनको नृत्य देखेर अतिथिहरूले दिएको इनामबाट उनको चर्चा चुलिन थालेको हो। अघिल्लो वर्ष पर्वतमा भएको पर्वत महोत्सव र बागलुङ महोत्सवमा उनको नृत्यलाई निकै रुचाइएको थियो। जति धेरै मानिसहरूको जमघट देख्यो उत्तिकै खुलेर नाच्न मन लाग्ने गरेको अनुभव श्रद्धाले सुनाइन्। श्रद्धाले तयारी गरेर मात्रै हैन विनातयारी पनि ठाउँ परिवेश हेरेर आफ्नोे प्रस्तुति दिने गरेकी छिन्।
गत वर्ष पुस १५ गते बागलुङ महोत्सवमा प्रशान्त तामाङको अगाडि उनकै चलचित्र परदेशीको विछोडको करौतीले बोलको गीतमा नृत्य गरेपछि उनको नृत्यकलाको अर्को आयाम खुल्यो। अर्कै गीतमा तयारी गरेर स्टेज पुगेकी श्रद्धाले एकाएक परदेशीको गीतमा नाच्न खोज्दा उनका प्रशिक्षक डराए तर उनले त्यो त्रासलाई उत्साहमा बदल्दै सोचेभन्दा राम्रो प्रस्तुति दिइन्। प्रशान्त तामाङ हेर्न महोत्सव स्थलमा पुगेका हजारौँको नजरमा त्यही दिनदेखि श्रद्धाले डेरा जमाइन्। श्रद्धाले लोक तथा आधुनिक लयका गीतमा नृत्य गर्ने गरेकी छन्।
प्राय बजारमा चलेका गीतहरूमा अभिनयात्मक नृत्य गर्न सक्ने उनको क्षमताले उनलाई पढाउने शिक्षक र अभिभावकहुरु समेत द‌ग छन्। श्रद्धालाई परिवारको सहयोग र साथ छ। उनका हरेक कृयाकलापमा परिवारले बिना रोकतोक सहयोग गर्ने गरेको छ। वैदेशिक रोजगारीमा रहेका उनकाबाबु राजकुमार क्षेत्रीले उनको इच्छा भएको कुनै पनि कुरामा नरोक्न परिवारलाई भनेका छन्। छोरीको अद्भुत नृत्य क्षमता देखेर बाबुले उसको इच्छाअनुसार नै गर्न भनेको आमा शोभाले बताइन्। नृत्यमा मात्रै होइन उनको वाककलामा समेत रुचि छ। केही दिन पहिला धौलागिरी एफएम बागलुङले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितमा सहभागी भएकी श्रद्धाले कक्षा ११/१२ मा पढ्नेहरूसँग प्रतिस्‍पर्धा गरिन्।
प्रतियोगिता जित्न त सकिनन् तर दर्जनौँ सहभागीलाई उछिन्दै उनी चौथो भइन्। उनलाई एफएमले प्रोत्साहन पुरस्कार दियो। ‘श्रद्धाको आत्माविश्वास देखेर मलाई उनको कलालाई सम्मान गर्न मन लाग्यो’ प्रतियोगिताका निर्णयक राम थापाले भने ‘श्रद्धाले भविश्यमा चर्चित चेलीको नाम कमाउँछिन्।’ श्रद्धा उनले पढ्ने विद्यालयमा कक्षा २ को लिडरसमेत हुन्। ‘नृत्य त उनको सबैले देखेकै कुरा भयो, त्योबाहेक पढाइ र अतिरिक्त क्रियाकलापमा पनि श्रद्धाको राम्रो दख्खल छ,’ कक्षा शिक्षक सीमा पुन भन्छिन्, ‘कक्षाका ३२ जना साथीहरूलाई उनी नै नेतृत्व गर्ने गर्छिन्।’ पछिल्लो समयमा धेरै कार्यक्रमबाट उनको नृत्यका लागि माग हुने गरकोले उनको पढाई प्रभावित नहोस् भनेर आफुहरु सचेत रहेको विद्यालयका प्रिन्सीपल निशान खड्काले बताए। धेरै कार्यक्रममा जाँदा पढाइ छुट्ने भएका कारण त्यसबारेमा अभिभावकलाई पनि सचेत गराएको खड्काले सुनाए।
‘विशेष कार्यक्रममा प्रस्तुतिका रोकेका छैनौँ, विदाको समयमा पनि छुट छ, तर पढाइको समयमा जस्तो पायो उस्तै कार्यक्रममा जानु हुँदैन भनेका छौं,’ खड्काले भने। श्रद्धा सार्वजनिक कार्यक्रममा मात्रै हैन विद्यालयहरुको रोजाइमा समेत पर्ने गरेकी छिन्। उनको अद्भुत प्रतिभालाई देखेर आफ्नो विद्यालयमा भर्ना गराउन चाहनेहरूको भिडनै लाग्ने गरेको छ। ‘तपाईंको छोरी हाम्रो विद्यालयमा ल्याउनुस् छोराछोरी दुबैलाई निःशुल्क पढाईदिन्छौँ भन्ने प्रस्ताव पनि आएका छन्’ आमा शोभाले भनिन्। श्रद्धाको प्रतिभाको रङ अब चलचित्रमा पनि मिसिएको छ। एचबी नेपाल फिल्म प्रोडक्सनले निर्माण गरेको हरि नेपालको मन परेको फूलमा बाल कलाकारको भूमिका श्रद्धाले निभाएकी छिन्।  साभारः थाहा खवर